विनोदसिंह विष्ट (इमेज)
बैतडी, असोज ९ । मानव बेचविखनको आरोपमा बैतडी प्रहरीले मंगलबार एकजनालाई पक्राउ गरेको छ । तीनजना आरोपी फरार छन् ।
पक्राउ पर्नेमा डडेल्धुराको आलिताल गाउँपालिका–८, सिस्नेका ४५ वर्षीय गणेश विष्ट रहेका इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।
फरार हुनेमा बैतडीको सिगास गाउँपालिका–२, गाँजरीकी २५ वर्षीया देवकी ढाँट, डडेल्धुराको आलिताल–८ का ५० वर्षीय शंकर अवस्थी र २८ वर्षीय ललित विक रहेका छन् ।
पक्राउ परेका विष्ट र फरार रहेकाहरुमाथि गत असारमा बैतडीको सिगासकी २८ वर्षीया एक महिलालाई बिहे गर्छु भनी ललाइ–फकाइ भारतको बैंग्लोर पुर्याइ बेचविखन गर्न खोजेको आरोप लागेको छ ।
प्रहरी निरीक्षक सिंहले भने–‘पीडित महिलाको उजुरीको आधारमा विष्टलाई पक्राउ गरेको हो । अन्यको खोजीकार्य जारी राखेका छौं ।’
पीडित महिलालाई उनका आफन्तले भारतबाट उद्धार गरी सोमबार बैतडी ल्याएको जनाइएको छ ।
पक्राउ परेका विष्टमाथि मानव बेचविखन तथा ओसारपसारसम्बन्धी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्