Logo ३० श्रावण २०८३, शनिबार | Sun Aug 16 2026


रास्वपाले उनेपासँगको सहमति अनुमोदन नगर्ने


2.9k
Shares

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उज्यालो नेपाल पार्टी (उनेपा) सँग २०८२ पुस १४ गते सम्पन्न सहमति अनुमोदन नगर्ने निर्णय गरेको छ। आज बसेको रास्वपाको सचिवालयको आकस्मिक बैठकले उक्त सहमति अनुमोदन नगर्ने निष्कर्ष निकालेको हो।

रास्वपाले पछिल्लो समय सुसंस्कृत, परिवर्तनकामी र वैकल्पिक राजनीतिक शक्तिहरूबीच व्यापक सहकार्यमार्फत देशमा नयाँ राजनीतिक विकल्पलाई संस्थागत गर्ने उद्देश्यसहित विभिन्न दल, समूह तथा व्यक्तिसँग संवाद गर्दै आएको जनाएको छ। यही प्रक्रियामा उनेपासँग सहमति भए पनि त्यसपछि मूल सहमतिको परिमार्जन तथा थप पूरक सहमतिका प्रस्तावहरू निरन्तर आएको र शीर्ष तहमा पटक–पटक छलफल भए पनि सहमति कायम हुन नसकेको पार्टीको भनाइ छ।

पार्टीले नयाँ राजनीतिक शक्तिहरूको मुख्य जिम्मेवारी सत्ता–केन्द्रित अंकगणित मिलाउने वा शक्ति बाँडफाँड गर्ने नभई लोकतान्त्रिक सुशासन, सार्वजनिक उत्तरदायित्व, नीतिमा आधारित शासन, सामाजिक न्याय र समावेशी समुन्नतिप्रति साझा प्रतिबद्धता निर्माण गर्नु रहेको स्पष्ट गरेको छ।

यसै आधारमा सहमति अनुमोदन नगर्ने निर्णय भए पनि लोकतान्त्रिक सुशासन, सामाजिक न्याय र समुन्नतिको पक्षमा उभिएका सुसंस्कृत तथा परिवर्तनकामी राजनीतिक शक्ति, समूह र व्यक्तिसँग संवाद र सहकार्यको सम्भावना खुला रहने रास्वपाले जनाएको छ।

साथै आगामी निर्वाचनमा स्थापित दलहरूको जडता, स्वार्थ–केन्द्रित राजनीति र असफल शासन संस्कृतिलाई चुनौती दिने बलियो राष्ट्रिय राजनीतिक शक्तिका रूपमा रास्वपालाई अघि बढाउन आम सदस्य, शुभेच्छुक र परिवर्तन चाहने सबैलाई जोड्ने प्रयास जारी रहने प्रतिबद्धता पनि पार्टीले व्यक्त गरेको छ।

१२ दिनको सहकार्यको यात्रा अनुमोदन नभए पनि उनेपाको नेतृत्व तथा सम्पूर्ण संगठनको आगामी राजनीतिक यात्राका लागि सफलताको कामना गरिएको रास्वपाले जनाएको छ।