Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


रास्वपामा समानुपातिक उम्मेदवारकाे बन्दसूची विवाद (भिडियाे रिपोर्ट)

बन्दसूचीमा विवाद नभएका व्यक्तिको नाम थप्ने रास्वपाको तयारी

598
Shares

काठमाडाैं। समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर व्यापक आलोचना खेपेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बन्दसूची सच्याउने गरी छलफलमा छ।

रास्वपाको शीर्ष नेतृत्व बन्दसूची सच्याउन छलफलमा जुट्दा विवादमा तानिएका उम्मेदवारले उम्मेदवारी फिर्ता लिन थालेका हुन् । संवैधानिक प्रावधानको गलत प्रयोग गरेको भन्दै आलोचना खेपेको रास्वपालाई उम्मेदवारी फिर्ताले सूची सच्याउन सहज हुने देखिएको छ ।

समानुपातिक उम्मेदवार चयनमा पार्टीभित्र र बाहिर व्यापक आलोचना भएपछि रास्वपार्टीले सच्याउनका लागि छलफल तीव्र बनाएको छ । पार्टीले छलफल मार्फत आलोचना भएका विषयलाई टुंग्याउने बताएपछि विवादित उम्मेदवारले उम्मेदवारी फिर्ता लिन थालेका हुन् । उम्मेदवारी फिर्ता लिनेहरुमा कलाकार त्रिशला गुरुङदेखि व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकालसम्म रहेका छन् । उनीहरुले समानुपातिक निर्वाचन प्रणालीको मर्म र भावनालाई सम्मान गर्दै उम्मेदवारी फिर्ता लिएको दावी गरेका हुन् ।

उनीहरुले उम्मेदवारी फिर्ता लिएपछि अन्य व्यक्तिमाथि पनि नैतिक प्रश्न उठन थालेको छ । रास्वपाबाट उम्मेदवार बन्नेहरु अन्य चर्चित र लोकप्रिय पात्रहरु पनि छन् । उनीहरुले उम्मेदवारी फिर्ता लिएर लक्षित वर्ग र समुदायका व्यक्तिलाई अघि सार्नुपर्ने दबाब पार्टीभित्र र बाहिर बढेको हाे । खासगरी राजनीतिक पहुँच नभएका व्यक्तिलाई बाहिर राखेर पहुँचवालाको बिगबिगी बढेपछि रास्वपाको आलोचना भएको थियो । यस्तो भएपछि पार्टीले बन्दसूची सच्याउनेगरी गतिविधि अघि बढाएपछि समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

अर्कोतर्फ, पार्टीले समानुपातिक उम्मेदवारका लागि पार्टीभित्र ‘प्राइमरी निर्वाचन’ गरेको थियो । त्यो निर्वाचनमा कार्यकर्ताले रोजेका व्यक्ति समानुपातिकको बन्दसूचीमा नपरेपछि थप आलोचना भएको छ । ‘प्राइमरी निर्वाचन’मा लोकप्रिय मत फाएका व्यक्तिलाई बेवास्ता गर्दै अन्य व्यत्ति अघि सारेपछि कतिपयको गुनासो अहिले पनि कायम नै छ । यसमा रास्वपामा समाहित बालेन शाहको समूह र उज्यालो नेपाल पार्टीको समूहले समस्या निम्त्याएको देखिन्छ । उनीहरुबीच रास्वपाले हताहतारमा सहमति गरेर समानुपातिकको बन्दसूची बुझाएको थियो । यसरी हतारहतारमा एकता र सूची बुझाउँदा त्यो समस्या आएको पार्टीका केन्द्रीय सदस्य विजय जैरुले बताउनुभयाे।

पुराना दलको समानुपातिक सूचीमा अहिले पनि पहुँचवालाको बाहुल्यता छ । सोही प्रवृत्तिको विरोध गर्दै आएको रास्वपाले त्यस्तो अभ्यास सच्याउने आम नागरिकको विश्वास थियो । तर, समानुपातिक बन्दसूचीमा पूरानै दलको अभ्यास गरेको भन्दै रास्वपाको चर्को आलोचना भएपछि सच्याउन लागिपरेको छ। रास्वपाको अग्रसरताले आम कार्यक्रतामा आशा पलाएको देखिन्छ ।


भिडियाे रिपोर्ट:

Skip This