Logo २४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026


रवि-बालेन र कुलमानबीचकाे वार्ता निष्कर्ष विहीन

रास्वपाले उनेपालाई १५ प्रतिशतमा सीमित गर्न खोजेपछि सहमति भाँडियो, कुलमान आफ्नाे बाटाे लागे

6.4k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच आइतबार ७ घण्टा चलेको वार्ता निष्कर्ष विहीन बन्न पुगेकाे छ।

पुनः छलफल गर्नेगरी वार्ता सकिए पनि हालसम्म वार्ता हुन सकेको छैन । उज्यालो नेपालले रास्वपासँग एकता गर्न उपसभापतिसहित पार्टीमा समग्र ३० प्रतिशत भागबन्डा हुनुपर्ने माग गरेको थियो । तर रास्वपाले उज्यालो पार्टीलाई १५ प्रतिशत भन्दा बढी दिन नसक्ने अडान राखेसँगै वार्ता निष्कर्षमा पुग्न नसकेको स्रोतले जनाएको छ ।

सोमबारको वार्तामा पार्टी एकीकरण गरेर जान रास्वपाले बढीमा १५ प्रतिशत मात्रै दिने प्रस्ताव गरेपछि संरक्षक घिसिङले पार्टीको अस्तित्व र सम्मानजनक सहभागिता बिना कुनै पनि किसिमको एकता गर्न नसकिने जवाफ फर्काएको स्रोतको जनाएकाे छ।

यसैबीच रास्वपासँग पार्टी एकता नहुने अवस्था भएपछि उज्यालो नेपालले समानुपातिकतर्फको बन्द सूचीको तयारी अन्तिम चरणमा पुर्‍याएको जानकारी दिएको छ। साेमबार साँझ ६ बजेसम्मको समयसीमाभित्र सबै प्रक्रिया टुंगाएर आयोगमा बन्दसूची बुझाउने तयारी पार्टीले गरेको हाे ।