Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


राष्ट्र बैंकद्वारा ३३ अर्ब बढीको सुन खरिद


364
Shares

काठमाडाैं। नेपाल राष्ट्र बैंकले ३३ अर्ब रुपैयाँ बराबरको सुन खरिद गरेको छ।

बैंकले देशमा बढेको विदेशी मुद्रा सञ्चितिलाई बलियो बनाउन वित्तीय उपकरणका रूपमा प्रयोग हुने सुनमा लगानी बढाएको हो। चालु आर्थिक वर्ष (आव) २०८२/०८३ शुरु भएसँगै राष्ट्र बैंकले हालसम्म थप ३३ अर्ब ५० करोड ४२ लाख रुपैयाँ बराबरको सुन किनेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको कात्तिक मसान्तसम्मको अस्थायी वित्तीय विवरणअनुसार बैंकको कूल सम्पत्ति विवरणमा सुन प्रमाणपत्रको लगानीमा ठूलो वृद्धि देखिन्छ।

यस अवधिसम्म सुन प्रमाणपत्रको मात्रै लगानी १ खर्ब ५२ अर्ब ९७ करोड रुपैयाँ भन्दा बढी छ। यो तथ्यांक गत असार मसान्तसम्मको लगानी १ खर्ब १८ अर्ब १९ करोड ३५ लाख रुपैयाँको तुलनामा ३३ अर्ब ५० करोड ४२ लाख रुपैयाँले बढी हो। गत असारको तुलनामा ४ महिनामा राष्ट्र बैंकले थप २८ प्रतिशत सुन खरिद गरी ढुकुटीमा थपेको छ। त्यस्तै, गत आव २०८१/०८२को तुलनामा ७५ दशमलव २० प्रतिशतले बढी हो। गत आवको कात्तिकसम्ममा राष्ट्र बैंकले सुन प्रमाणपत्रमा मात्रै करिब ८७ अर्ब ३१ करोड ४२ लाख रुपैयाँ लगानी गरेको थियो।

यस अनुरूप १ वर्षको अन्तरमा थप ६५ अर्ब ६५ करोड ५९ लाख रुपैयाँ बराबरको सुन किनेको राष्ट्र बैंकले जनाएकाे छ।