Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


रास्वपा सांसद महताको सरकारलाई प्रश्नः ‘कानून ठूलो कि नागरिकको ज्यान ?’


0
Shares

काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ज्ञानेन्द्र सिंह महताले बिरामीको ज्यान बचाउने आपत्कालीन हवाई उद्धारमा देखिएको प्रक्रियागत र कानूनी जटिलताप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ।

प्रतिनिधि सभाकाे बिहीबार बसेकाे बैठकमा बाेल्दै उहाँले यस्ताे असन्तुष्टि व्यक्त गर्नुभएको हाे। आफ्नो परिवारको सदस्यको जीवन रक्षाका लागि सरकारी निकाय धाउँदा पनि सहयोग नपाएपछि उहाँले बैठकमा ‘मानव जीवन भन्दा ठूलो कानून हुन नसक्ने’ भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

कञ्चनपुरको महाकाली अस्पतालमा गत भदौ ६ गते भर्ना भएकी भाइबुहारीको शल्यक्रियापछि स्वास्थ्य अवस्था एक्कासी जटिल बनेपछि सांसद महताले आपत्कालीन हवाई उद्धारको प्रयास गर्नुभएको थियो । चिकित्सकले बिरामीलाई सुविधासम्पन्न अस्पतालमा लैजान सुझाव दिएपछि उहाँले स्वास्थ्य, गृह र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सम्पर्क गर्नुभएको थियो ।

तर मन्त्रालयका जिम्मेवार पदाधिकारीबाट फोन नउठ्ने र फोन उठेको अवस्थामा पनि ‘कानूनी जटिलता’ भन्दै पन्छिने काम भएको उहाँले बताउनुभयो। सभामुखको सहयोगमा केही प्रयास भएपनि अन्त्यमा निजी क्षेत्रको हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्था आएकाे बताउनुभएकाे छ। सांसद महताले हालको उद्धार प्रणालीमा रहेका प्रशासनिक झमेलाहरू तत्काल अन्त्य गर्न माग गर्नुभयो ।

सांसद महताले चिकित्सकको सिफारिसका आधारमा तत्काल हवाई उद्धार गर्ने व्यवस्था लागू गर्न, स्वास्थ्य र गृह मन्त्रालय, सेना तथा नागरिक उड्डयन प्राधिकरणबीच २४ सै घण्टा समन्वय हुने संयन्त्र निर्माण गर्न सरकारलाई आग्रह गर्नुभएकाे छ। कानून नागरिकको जीवन बचाउन हुनुपर्नेमा अवरोधक बन्न नहुने उहाँकाे भनाइ थियाे।