Logo २४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026


३ महिनामा साढे ११ लाख बराबरको अखाद्य वस्तु नष्ट

१७ जना व्यवसायीविरूद्ध मुद्दा दायर

117
Shares

काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउनदेखि असोजसम्म) बजार अनुगमनका क्रममा साढे ११ लाख भन्दा बढी मूल्यको अखाद्य वस्तु जफत गरी नष्ट गरेको जनाएकाे छ।

विभागले सार्वजनिक गरेको प्रथम त्रैमासिक प्रगति प्रतिवेदन अनुसार, खाद्य स्वच्छता तथा गुणस्तर ऐन विपरीतका गतिविधिमा संलग्न १७ व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको हाे। विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असोज मसान्तसम्मको अवधिमा विभाग र मातहतका ४३ कार्यालयबाट २ हजार ९ सय १८ पटक बजार अनुगमन गरिएको थियो।

विशेषगरी चाडपर्वलाई लक्षित गरी गरिएको अनुगमनका क्रममा उपभोग्य मिति समाप्त भएका, खाद्य अनुमति पत्र नलिएका र पूर्ण लेबल विवरण नभएका ११ लाख ५६ हजार २०६ रुपैयाँ बराबरका खाद्य पदार्थ नष्ट गरिएको हो। नष्ट गरिएका वस्तुहरूमा मिठाई, पेय पदार्थ, मसला, खाद्यान्न, बियर, मैदा, सुजी दालमोठ, चिप्स, तेल र जुस जस्ता सामग्री भएकाे विभागले जनाएकाे छ।