Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


१० लाख उद्यमी भएको देशमा डेढ लाख बढी कालोसूचीमा राखिएकाेप्रति गभर्नर पौडेलको चासो

चेक बाउन्सलाई बढी अपराधिकरण गर्न हुँदैन

2.5k
Shares

काठमाडाैं। नेपाल राष्ट्र बैंकका डा. गभर्नर विश्वनाथ पौडेलले कर्जा प्रवाह नबढ्नुको कारण कालोसूचीमा राख्ने क्रम अस्वभाविका रुपमा बढेको भन्दै गम्भीर चासो देखाउनुभएको छ।

राजधानीमा शुक्रबार भएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गभर्नर पौडेलले करिब १० लाख उद्यमी भएको देशमा डेढ लाख भन्दा बढी कालोसूचीमा राखिनु स्वभाविक नभएको बताउनुभयो । कालोसूचीमा राखेकै कारण कतै कर्जा लिनेको संख्या बढ्न नसकेको हो की भनेर राष्ट्र बैंकले छलफल थालेको समेत उहाँकाे भनाइ छ। गभर्नर पौडेलले चेक बाउन्सलाई धेरै नै अपराधिकरण गर्न नहुने बताउनुभयो ।

गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई व्यवसायमा लगानी बढाउन समेत आग्रह गर्नुभयो । उहाँले बैंक भनेको व्यवसाय नै रहेकाले बिजनेसमा इन्भेस्ट गर्नुपर्नेमा जोड दिनुभएकाे छ। उहाँकाअनुसार नयाँ उद्यमीहरु खोज्न अब चासो दिनुपर्छ । लगानीबिना आर्थिक समृद्धि हासिल नहुने भएकाले राष्ट्रिय अर्थतन्त्रलाई बल पुग्ने गरी लगानी बढाउनुपर्छ।

देशको ग्रोथ नभई कसैको पनि उन्नति नहुने भन्दै उहाँले इकोनोमी ग्रोथका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय उदाइरहेको आईटी क्षेत्रमा लगानी गर्न समेत उहाँले बैंकहरुलाई आग्रह गर्नुभएकाे छ। गभर्नर पाैडेलले अरु देशमा रहेका नीतिहरुलाई समेत हेरर नेपाललाई अनुकूल हुने नीतिहरु ल्याउन राष्ट्र बैंक तयार रहेको बताउनुभयो ।