Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


चौथो खेलमा अपराजित कर्णाली फाइनलमा प्रवेश


208
Shares

काठमाडाैं । डिफेन्डिङ च्याम्पियन कर्णाली लगातार चौथो खेलमा अपराजित रहँदै एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फाइनलमा प्रवेश गरेकाे छ।

जेनजी आन्दोलनका कारण प्रभावित भएको फ्रेन्चाइच महिला भलिबल लिग बुधबारदेखि काठमाडौंमा सुचारू भएको हो। यसअघि पोखरामा लिग भएपनि आन्दोलनपछि आयोजक इनफिनिटी ड्रिम्स प्रालिले आयोजना काठमाडौंमा सार्ने निर्णय गरेको थियो। विदेशी खेलाडीबिना नै सुचारू भएको लिगमा पनि कर्णालीले आफ्नो लय जारी राख्दै जित निकाल्यो र फाइनलमा पनि पुग्यो।

सुमित्रा रेग्मीको कप्तानीमा रहेको कर्णालीले निरूता ठगुन्नाको कप्तानीमा रहेको मधेस युनाइटेडमाथि ३-० सोझो सेटमा सहज जित निकाल्यो। ६ वटा फ्रेन्चाइज टोली रहेको लिगमा कर्णालीले चार खेलबाट १२ अंक बटुल्यो। त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मधेसले शुरूवाती अंक बटुल्दै खेलमा राम्रो प्रदर्शन गर्ने संकेत गरेको थियो। तर फितलो डिफेन्स सामना गरेपछि मधेस निरासापूर्ण नतिजा सामना गर्न बाध्य भयो।

कर्णालीका कप्तान सुमित्रा र सफिया पुनले मधेसकी कप्तान निरूताको स्पाइक लगातार ब्लक गर्दै उनलाई चल्नै दिएनन् । मधेशकी आशा गरिएका खेलाडी आरती सुवेदी र कोपिला रानाले पनि स्वाभाविक प्रदर्शन गर्न सकेनन् । यससँगै कर्णालीले मधेसमाथि २५–१५, २५–१२ र २५–१७ ले सहज जित निकाल्यो र चौथो खेलमा पनि अपराजित यात्रा कायमै राखेको छ।

कर्णालीको जितमा साफिया पुन प्लेयर अफ दी म्याच घोषित भएकि हुन् ।