Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


सरकार र शीर्ष नेताबीच देखिएको दूरीका कारण निर्वाचनमा जटिलताः अध्यक्ष दाहाल

लुटिएका हतियार र फरार कैदी पनि निर्वाचनका लागि बाधक

169
Shares

काठमाडाैं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकार र शीर्ष नेताहरूबीच देखिएको ग्यापले आगामी फागुन २१ गते तोकिएको निर्वाचन तयारीमा जटिलता थप्नसक्ने आशंका व्यक्त गर्नुभएको छ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको आइतबार बसेको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । आगामी निर्वाचनका तयारीका सन्दर्भमा सरकार र प्रमुख राजनीतिक दलहरूबीच अपेक्षित सहकार्य नदेखिएको उहाँको भनाइ छ । निर्वाचन जस्तो संवैधानिक प्रक्रियामा राजनीतिक दलहरूको सक्रियता र सहकार्य अपरिहार्य भएपनि अहिले त्यस्तो वातावरण बन्न नसकेको उहाँले बताउनुभयो ।

उहाँले २०६९ सालमा खिलराज रेग्मीको नेतृत्वमा बनेको चुनावी सरकारले निर्वाचन गराउनसक्ने अहिले किन नसक्ने भन्ने प्रश्न उठेपनि त्यो बेला र अहिले फरक परिस्थिति रहेको बताउनुभयो । त्यसबेला राजनीतिक दलहरूको सहमतिमा बनेको सरकार भएकाले निर्वाचन आयोग र सरकारलाई काम गर्न सहज भएको उहाँले स्मरण गर्नुभएकाे छ।

तर अहिले मुख्य दलका नेताहरू निर्वाचनको माहौल बनाउन त्यति संलग्न नभएको उहाँले बताउनुभयाे। अध्यक्ष दाहालले बहुदलीय व्यवस्थामा राजनीतिक दलहरूको सक्रिय सहभागिता बिना निष्पक्ष निर्वाचन सम्भव नहुने बताउँदै दल र सरकारले दायित्व पूरा गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

अध्यक्ष दाहालले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र जेल ब्रेक गरेर भागेका कैदीहरु पनि निर्वाचनको लागि अर्को जटिल पक्ष भएको बताउनुभएकाे छ। सरकारले निर्वाचन गराउन उचित वातावरण निर्माण गर्नुपर्ने उहाँको भनाइ छ । निर्वाचन आयोगले भने निर्वाचनको लागि ६० प्रतिशत तयारी पूरा भएको जानकारी आफूलाई दिएको समेत उहाँले बताउनुभयो ।