Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


युनेस्कोद्वारा ललितपुर महानगरलाई संगीतको सिर्जनात्मक शहर घोषणा


143
Shares

काठमाडाैं । ललितपुर महानगरपालिकालाई युनेस्कोले संगीतको सिर्जनात्मक शहर घोषणा गरेको छ।


महानगरले बिहीबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो। महानगरले संगीतको माध्यमबाट नगरवासीलाई रोजगारीको नयाँ अवसर सिर्जना गर्नसक्ने महशुस गरी संगीतको विधामा रम्परागत संगितको संरक्षण गर्दै समकालिन संगीतलाई युनेस्को सिर्जनात्मक शहरहरुको सञ्जालको सदस्यताको लागि पहल गरेको थियो । गत अक्टोबर ३१ तारिखमा विश्व शहर दिवसको अवसर पारेर ललितपुर महानगरलाई युनेस्कोले संगीतको सिर्जनात्मक शहर घोषणा गरेको गरिएको महानगरले जनाएको छ।

युनेस्कोबाट संगित विधामा सदस्यता प्राप्त गरेसगै महानगरले ४ वर्षको लागि संगितको क्षेत्रका काम गर्ने योजना समेत तयार पारेको हाे । महानगरले यस क्षेत्रमा अनुसन्धान तथा शैक्षिक कार्यक्रम गर्ने, आवश्यक नीति निर्माणमा पहलकदमी गर्ने तथा श्रोत तथा साधनको विकास गर्नको लागी ललितपुर सिर्जनात्मक कला केन्द्रको स्थापना गर्ने लगायतका योजना तयार पारेको छ ।

महानगर प्रमुख चिरिबाबु महर्जनले युनेस्कोबाट महानगरपालिकालाई संगीतको शहर घोषणा गरेपश्चात परम्परागत र समकालिन तथा आधुनिक संगीतको जगेर्ना गर्दै यस क्षेत्रमा युवाहरुलाई प्राथमिकताका साथ सहभागी गराउने बताउनुभयो । संगीतलाई रोजगारी सिर्जनाको माध्यम बनाउन महानगरपालिकालाई महत्वपूर्ण जिम्मेवारी र अवसर प्राप्त भएको उहाँको भनाइ छ । संगीतको माध्यमबाट महानगरको छवि र परिचयलाई अन्तर्राष्ट्रियस्तरमा थप उचो बनाउन सबैको साथ सहयोग हुने उहाँले बताउनुभयो ।

संस्कृति तथा सिर्जनशीलतालाई दिगो विकासको बाहकको रुपमा अंगिकार गरेका शहरहरुलाई एकै थलोमा ल्याई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लक्ष्य प्राप्तिमा सहयोग गर्ने उद्देश्यले युनेस्कोले सन् २००४ देखि युनेस्को सिर्जनात्मक शहरहरुको सञ्जालको शुरुवात गरेको हो । हस्तकला तथा लोक कला, डिजाईन, फिल्म, खानपान, साहित्य, मिडिया कला, संगित र वास्तुकला विधामा सञ्जालको सदस्यता लिन सकिन्छ ।