Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


बलिउड अभिनेता तथा हास्यकलाकार सतीश शाहको निधन


1.4k
Shares

काठमाडाैं ।

बलिउडका वरिष्ठ अभिनेता र लोकप्रिय कमेडियन सतीश शाहको ७४ वर्षको उमेरमा निधन भएको छ।

लामो समयदेखि मिर्गौला सम्बन्धी समस्याबाट पीडित शाहको शनिबार अचानक स्वास्थ्य बिग्रिएपछि निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

शाहको केही महिनाअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। सफल शल्यक्रियापछि उनी पूर्ण रूपमा निको भएर डेढ महिनाअघि घर फर्किएका थिए। तर शनिबार राति खाना खाएपछि अचानक ढलेका थिए र अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको बताइएको छ।

सतीश शाहले आफ्नो हास्य अभिनय र उत्कृष्ट टेलिभिजन उपस्थितिका कारण दर्शकको मन जितेका थिए। उनी ‘साराभाई भर्सेस साराभाई’ जस्ता चर्चित टेलिभिजन शोका कारण घरघरमा चिनिने पात्र बनेका थिए।

त्यस्तै, उनले ‘जाने भी दो यारो’, ‘मै हुँ ना’, ‘कल हो ना हो’, ‘फना’, ‘ओम शान्ति ओम’ लगायतका थुप्रै सफल बलिउड फिल्महरूमा दमदार अभिनय गरेका थिए।

उनको निधनले बलिउड उद्योगमा ठूलो शोक छाएको छ। अभिनेता, निर्देशकदेखि उनका सहकलाकारहरूसम्मले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि अर्पण गर्दै सतीश शाहको योगदान सदैव सम्झन योग्य रहने बताएका छन्।