Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


वैदेशिक रोजगारीमा जाने श्रमिकको हक-हितको सवालमा सरकारले कुनै सम्झौता गर्दैन : मन्त्री भण्डारी


741
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकको हक-हितको सवालमा सरकारले कुनै सम्झौता नगर्ने बताउनुभएको छ ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री भण्डारीले प्रविधिमैत्री सेवा विस्तार गर्दै वैदेशिक रोजगरमा रहेका श्रमिकको पहुँचमा सहजता ल्याउने प्रयास भइरहेको बताउनुभयो । उहाँले श्रम संसार मोबाइल एप्लिकेसनमार्फत वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण सेवा एकीकृत गरिएको समेत बताउनुभयो ।

मन्त्री भण्डारीले विदेशमा रहेका नेपालीले राजदूतावाससँग प्रत्यक्ष सम्पर्क गर्न नसके पनि एआई प्रविधिबाट भर्चुअल जानकारी पाउने व्यवस्था गरिएको बताउनुभयो । उहाँका अनुसार दूतावासको फोन नउठेमा कल नेपालस्थित कल सेन्टरमा ट्रान्सफर हुने र आवश्यक विवरण टिपेरसम्बन्धित दूतावासमा जानकारी गराउने प्रणाली विकास भइसकेको छ ।

मन्त्री भण्डारीले नेपालमा दिइने तालिम विदेशी बजारमा सान्दर्भिक नहुने अवस्थालाई ध्यानमा राखी गन्तव्य मुलुकको पाठ्यक्रम र सिपको प्रमाणिकरण दुवैतर्फबाट हुने जोइन्ट सर्टिफिकेट प्रणाली अगाडि समेत बताउनुभयो । उहाँले समान कामको लागि नेपाल वा विदेश जहाँ भए पनि समान ज्यालाका लागि कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै युएईमा नेपाली श्रमिकको न्यूनतम तलब १२०० दिरामबाट बढाएर १४०० दिराम पुर्याइएको उल्लेख गर्नुभयो ।