काठमाडौं, असोज ३ । संयुक्त राष्ट्रसंघको साधारणसभाको ७३औं अधिवेशन बुधबार न्यूयोर्कमा आरम्भ भएको छ ।
अधिवेशन सुरु गर्दै यस वर्षको साधारणसभाका अध्यक्ष मारिया फर्नान्डा एस्पिनोसा गार्सेसले अझ बढी समान, स्वतन्त्र, दिगो, सम्मानपूर्ण, समावेशी तथा सहयोगी विश्व निर्माण गर्न आह्वान गरिन् ।
जुन महिनामा सभाका अध्यक्ष निर्वाचित हुँदा इक्वेडोरका कूटनीतिज्ञ गार्सेसले यस वर्ष ‘संयुक्त राष्ट्रसंघलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने (संस्था) बनाउने’ छलफलको मूल विषय रहेको बताएकी थिइन् ।
उनी यस महासभाका लागि चौथो महिला सभाध्यक्ष तथा ल्याटिन अमेरिकी तथा क्यारिबियन क्षेत्रबाट प्रथम महिला सभाध्यक्ष हुन् ।
उनले चालू अधिवेशनमा लैंगिक समानता प्रवद्र्धन, आप्रवासी तथा शरणार्थीका लागि विश्वव्यापी सहमति, राम्रो कामका लागि वकालत, वातावरण संरक्षण, अशक्त अवस्था भएका व्यक्तिको अधिकारमा ध्यानाकर्षण, राष्ट्रसंघको सुधार प्रक्रिया तथा वार्तामा सहयोगका क्षेत्रलाई प्राथमिकता दिइने बताइन् ।
अधिवेशनको आरम्भमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति स्थापना, लैंगिक समानता, कार्यसूची ३० को खर्च, युवा सबलीकरण, गरिबी तथा द्वन्द्व अन्त्य गर्न जोड दिइने बताए ।
साधारणसभाले आउँदो सोमबार (२४ सेप्टेम्बर) ‘नेल्सन मन्डेला शान्ति शिखर बैठक’का रूपमा उच्चस्तरीय पूर्णबैठक आयोजना गर्नेछ । सो बैठक दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेलाको सम्मानमा समर्पित हुनेछ ।
बैठकमा सदस्य राष्ट्र सहमत भएको राजनीतिक घोषणापत्र पारित हुनेछ ।
आउँदो बुधबार (२६ सेप्टेम्बर) साधारणसभाले क्षयरोगविरुद्ध संघर्षका विषयमा उच्चस्तरीय बैठक आयोजना गर्नेछ ।
बिहीबार (२७ सेप्टेम्बर) असंक्रमणीय रोगप्रतिरोध तथा नियन्त्रणमा भएका प्रगतिका विषयमा छलफल गर्न उच्चस्तरीय बैठक आयोजना हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । रासस








प्रतिक्रिया दिनुहोस्