
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारण सभामा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेशमा रोक लगाइएपछि शुक्रबार धुलिखेलमा विवाद उत्पन्न भएको छ ।
पूर्वअध्यक्ष थापालाई साधारण सभास्थलको गेटमै सुरक्षाकर्मीले रोकेपछि केही समय वातावरण तनावपूर्ण बनेको हो । यद्यपि भित्र साधारणसभा भने सञ्चालन भइरहेको छ ।
साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष टंकलाल घिसिङले गर्नुभयो । एन्फाले प्रवेश पास नभएको भन्दै थापालाई रोक लगाएको बताएको छ । यससँगै उल्लेख्य संख्यामा सुरक्षाकर्मीहरू पनि घटनास्थलमा खटाइएको छ । पूर्वअध्यक्ष थापाले भने आफू उच्च अदालत पाटनको आदेशअनुसार सभामा सहभागी भएको बताउनुभयो । उहाँले अदालतको आदेश मान्दिन भन्न वा साधारण सभामा प्रवेश दिन एन्फालाई आग्रह गर्नुभयो ।
पूर्वअध्यक्ष थापाले एन्फाले आफूलाई रोक्न सक्ने सङ्केत पाएपछि उच्च अदालत पाटनमा रिट दायर गर्नुभएको थियो । वैशाख २१ मा न्यायाधीश सुदर्शनदेव भट्टको इजलासले थापाको पक्षमा अन्तरिम आदेश दिएको थियो । सो आदेशअनुसार उहाँ साधारणसभामा सहभागी हुन पुग्नुभएको थियो । तर एन्फाका प्रवक्ता सुरेश साहले अदालतको आदेशबारे औपचारिक जानकारी नआएको जिकिर गर्नुभएको छ ।
सन् २०१५ अप्रिल १६ मा फिफाले भ्रष्टाचार र आचारसंहिता उल्लंघनको आरोपमा थापालाई १० वर्षका लागि निलम्वन गरेको थियो । सो निलम्वन सन् २०२५ अप्रिल १५ मा सकिएको थियो । प्रतिवन्ध फुकुवा भएपछि थापा फुटबल गतिविधिमा सक्रिय हुन थाल्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्