२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024


मुन–किमबीच दुई घन्टा लामो वार्ता


0
Shares

सोल, असोज २ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाली नेता किम जोङ उनबीच मंगलबार वार्ता भएको छ ।

दुई कोरियाली नेताबीच कोरियालाई आणविकरूपमा निःशस्त्रीकरण तथा उक्त प्रायद्वीपको स्थायी शान्तिका लागि उत्तर कोरियाली सत्ताधारी दल वर्कर्स पार्टीको मुख्यालयमा दुई घन्टा लामो वार्ता भएको हो ।

वार्तापहिले राष्ट्रपति मुन र नेता किमले प्योङयाङका सडकमा सवारी हाँक्दै गर्दा सडकका दुई किनारामा बसेका हजारौं कोरियाली नागरिकले उनीहरूलाई तालीसहित भव्य स्वागत गरेका थिए ।

कोरियाली प्रायद्वीपलाई निःशस्त्रीकरण गराउन अमेरिकासँग भएको र हाल अवरुद्ध अवस्थामा रहेको वार्तालाई पुनः सन्चालन गर्ने तयारीका साथ राष्ट्रपति मुन प्योङयाङ पुगेका हुन् ।

प्योङयाङ अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुगेका उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन विमानस्थलमा एकापसमा अँगालो मार्दै स्नेह र आत्मियताको भाव साटासाट गरेका थिए ।

सडकमा स्वागतका लागि बसेका कोरियालीहरूले हातमा फूलका गुच्छा समातेर एक स्वरमा ‘राष्ट्रको पुनः एकीकरण’को गीत गाएका थिए ।

वार्ताको सुरुआत गर्दै दक्षिण कोरियाली नेता मुनले किमसँग भने–‘म हामीमाथि रहेको भारबारे पूर्णतया संवेदनशील रहेको छु ।’

उनले थपे–‘मलाई भारी जिम्मेवारीपनको बोध भएको छ ।’

मुनले भने–‘सम्पूर्ण विश्वले हेरिरहेकोे छ । म शान्ति र समृद्धिको नतिजालाई विश्वभर देखाउन चाहन्छु ।’

मुनका आफ्नै अभिभावक पनि कोरियाली युद्धका समय उत्तर कोरियातर्फ भागेका थिए ।

आफ्ना पाहुनालाई सम्मानपूर्ण भावमा सम्बोधन गर्दै किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग गत जुन महिनामा ऐतिहासिक सिंगापुर शिखर सम्मेलनका लागि मध्यस्थता गरेकामा मुनको प्रशंसा गरे ।

‘यसले यस क्षेत्रलाई स्थायित्वतर्फ लगेको छ । यसले थप गति लिनेछ भन्ने मैले सोचेको छु’–उनले भने ।

दुई घन्टा लामो वार्तामा भएका थप कुराकानीबारे तत्काल केही बताइएको छैन ।

मुन र किमबीच अर्को चरणको वार्ता बुधबार पुनः हुनेछ । रासस/एएफपी