काठमाडौं । भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई आगामी एक वर्षभित्रमा १ लाख लालपूर्जा बाँड्ने आयोगको योजना रहेको बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै अध्यक्ष रिजालले यस्तो कार्ययोजना रहेको बताउनुभएको हो ।
अध्यक्ष रिजालले अहिलेको आयोगलाई सबै जिल्लामा तीन वर्षको अवधि दिने भन्दा पनि निवेदनका आधारमा अवधि निर्धारण गरिएको बताउनुभयो । उहाँले भूमि आयोगले जिल्ला र पालिकालाई लक्ष्य दिएर आगामी एक वर्षभित्रमा १ लाख लालपूर्जा वितरण गर्ने योजना बनाएको उल्लेख गर्नुभयो ।
अध्यक्ष रिजालले आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई लालपूर्जा वितरण गर्ने गरी पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले आयोगले अहिले प्रमाणिकरण भएको संख्यालाई आगामी तीन महिनाभित्र लालपूर्जा बाँड्ने गरी काम अगाडि बढाएको समितिलाई जानकारी दिनुभयो ।
अध्यक्ष रिजालले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी गरिएको लगत संकलनमा १० लाख ९६ हजार आएको बताउनुभयो । उहाँले आयोगले अब एक पटकलाई लगत संकलन खुला गर्ने र लगत संकलनको काम बन्द गरिने बताउनुभयो ।
अध्यक्ष रिजालले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोवासी पहिचान र प्रमाणिकरणको काम सकिएको घोषणा गर्दै जाने बताउनुभयो । उहाँले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोवासीको संख्या यकिन गरी प्रमाणिकरणको काम पालिका वडाहरुमा बन्द भएको घोषणा गर्दै जाने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्