काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिमा कोरम नपुगेर बैठक नै स्थगित हुने स्थिति सिर्जना हुन थालेपछि सांसदहरुले क्यालेण्डर बनाउनुपर्ने माग गरेका छन् ।
मंगलबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले यस्तो माग गरेका हु्न् ।
समिति सचिवालयले समयमै जानकारी नदिने र क्यालेण्डर नबनाइएकै कारण समिति बैठकमा कोरम नपुग्ने समस्या रहेको उहाँहरुको भनाइ छ । बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले समिति बैठकमा निर्णय गर्नको लागि आवश्यक सांसदको उपस्थिति नहुँदा सांसदहरु गैरजिम्मेवार जस्तो देखिएको बताउनुभयो । उहाँले संसद चलेपछि त्यहीअनुसारको क्यालेण्डर बनाएपनि त्यसअघिको लागि समितिको छुट्टै क्यालेण्डर बनाउनुपर्ने बताउनुभयो । समितिको काम अनुगमन गर्ने र उजुरीहरु हेर्ने मात्र भएको समेत असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले अनुगमनलाई बढी प्राथमिकता दिँदा समितिले गर्नुपर्ने मुख्य कामहरु गर्न नसकिरहेको बताउनुभयो ।
बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले समितिले गर्ने निर्णय र निर्देशनहरुको सुनिश्चतता गर्नुपर्ने बताउनुभयो । उहाँले समितिले गरेका निर्णय र निर्देशनहरु सान्दर्भिक नभए किन निर्णय र निर्देशनहरु दिने रु भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले बैठकको कार्यतालिकाबारे जानकारी दिने सवालमा लापरबाही नगर्न समिति सचिवको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डागीले समितिले आफ्नै क्यालेण्डर बनाएर काम कारबाही गर्नुपर्ने बताउनुभयो । मन्त्रीको समयबारे समितिलाई थाहा नहुने तर मन्त्रीको उपस्थिति बिना समिति बैठक अगाडि बढ्न नसक्ने भएका कारण क्यालेण्डर आवश्यक रहेको उहाँको भनाइ छ ।
बैठकमा अधिकांश सांसदहरुले समितिका काम कारबाहीहरु प्रभावकारी बनाउन छुट्टै क्यालेण्डर बनाउन आवश्यक रहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्