काठमाडौं । सुरक्षित कारोबार ऐनलाई कार्यान्वयन गर्न योग्य बनाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।
मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा भएको सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँगको छलफलमा अधिकांश सांसादहरुले कार्यान्वयन योग्य बनाउनुपर्नेमा जोड दिनुभएको हो ।
सांसदहरुले सुरक्षित कारोबार ऐनमार्फत अनौपचारिक रुपमा हुने कारोबारलाई औपचारिक बनाउँदै राजश्वको दायरामा ल्याउने र कार्यान्वयनमा जटिलता नआउने गरी बनाउन जरुरी रहेको उल्लेख गरे । उनीहरुले राष्ट्रिय सभाबाट पारित भएर आएको ऐनलाई धेरै लम्ब्याएर राख्न नहुने भन्दै समितिले चाँडै ऐनमा सहमति गरेर जानुको विकल्प नभएको बताए ।
सांसदहरुले सरकारले सुरक्षित कारोबार ऐन बनाउँदा वर्तमान अवस्थालाई मात्रै नभएर भविष्यलाई सोचेर बनाउनुपर्नेमा जोड दिए । उनीहरुले विगतमा बनेका कानूनहरुले अहिलेको पुस्तालाई नचिन्ने अवस्था रहेको भन्दै अब बन्ने सुरक्षित कारोबार ऐनलाई समय सापेक्ष बनाउन माग गरेका छन् ।
बैठकमा बोल्दै पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले कानून बनाउँदा स्पेसिफिक बनाउनु जरुरी रहेको बताउनुभयो । उहाँले विधेयकमा समावेश गर्न छुटेका र संशोधन गर्नुपर्ने विषयमा अझ थप सुरक्षित कारोबार सम्बन्धी विज्ञसँग छलफल गर्न आवश्यक रहेको बताउनुभयो ।
पूर्वअर्थमन्त्री वर्षमान पुनले सुरक्षित कारोबार ऐनलाई कार्यान्वयन र सरलिकृत गर्नेगरी जानुपर्ने बताउनुभयो । उहाँले दैनिक जीवनमा भइरहेका कारोबारलाई कानूनी रुप दिनेगरी ऐन बनाउनुपर्ने बताउनुभयो । उहाँले सुरक्षित कारोबार ऐनलाई पछिल्लो समय टेक्नोलोजी क्षेत्रमा भएको विकासलाई समेत आत्मसाथ गरेर जानुपर्नेमा जोड दिनुभयो ।
पूर्वअर्थमन्त्री पुनले अहिले राष्ट्रिय सभाबाट पारित भएर आएको ऐन भएपनि अर्थमन्त्री र सचिवले नबुझ्ने अवस्था रहेको उल्लेख गर्नुभयो । उहाँले सुरक्षित कारोबार ऐनले चल सम्पतीको कारोबारलाई सरलिकृत गर्नेगरी बनाउनुपर्ने बताउनुभयो । उहाँले समितिले ऐनलाई लामो समय राख्न नहुने बताउनु भयो । उहाँले डिजिटल कारोबारको विषयलाई ऐनमा समेट्न जरुरी रहेको बताउनुभयो ।
नेकपा एमालेका सांसद पदम गिरीले सुरक्षित कारोबार ऐनमा चल सम्पती राखेर ऋण प्रवाह गर्ने व्यवस्थाले दायरा बिस्तार गर्ने बताउनुभयो । उहाँले सामान्य वर्गमा हुने आर्थिक कारोबारलाई औपचारिकतामा ल्याउनको लागि ऐनले सहयोग पु¥याउनुपर्ने बताउनु भयो ।
सांसद गिरीले ऐन बनेसँगै अनौपचारिक बनेको अर्थतन्त्र औपचारिकतामा जाने बताउनुभयो । उहाँले चलसम्पती राखेर ऋण प्रवाह गर्ने विषय महत्वपूर्ण भएको बताउनुभयो । उहाँले ऐन बनेपछि कार्यान्वयनमा जटिलता नआउने गरी बनाउन जरुरी रहेको बताउनु भयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले विद्यमान कानूनहरुमा युवा पुस्तालाई नसमेटेकाले युवाहरु पलायन भइरहेको बताउनुभयो । उहाँले युवा उद्यमीहरुले गरेको कामलाई अहिले भएका कानूनले नचिनेको बताउनुभयो ।
सांसद श्रेष्ठले नेपालमा पुँजी परिचालनमा वृद्धि भएको बताउनुभयो । उहाँले सुरक्षित कारोबार ऐनले सामाजिक तहबाट पुँजी विकास गर्नेगरी मद्दत गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाली समाज परम्परागत सामाजिक व्यवहारले चलेको बताउनुभयो । उहाँले यो ऐनले माइक्रोफाइनान्स र सहकारीलाई समेट्न आवश्यक रहेको बताउनुभयो ।
पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समितिले सुरक्षित कारोबार ऐनमा लामो छलफल गर्नु नपर्ने बताउनुभयो । उहाँले लामो छलफल गर्दा संसदले बनाउने विधेयकहरु ढिला भइरहेको बताउनुभयो । उहाँले लामो छलफल र बहसले सांसदहरुले वर्तमान कार्यकालमा विधेयकहरु पूरा गर्नसक्ने अवस्था नभएको बताउनुभयो ।
पूर्वअर्थमन्त्री कार्कीले ऐन बनेपछि कार्यान्वयनमा देखिने जटिलताहरु समाधान हुनेगरी बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले ऐनका विषयमा धेरै अलमल नगरी ठोस विषयमा छलफल गरेर टुङ्गोमा पुग्न आवश्यक रहेको बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्