काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले श्रमीकहरु वैदेशिक रोजगारीको लागि व्यक्तिगत सम्पर्कको माध्यमबाट विदेशिने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गरेको छ ।
मंगलबार काठमाडौंमा अन्तर्राष्ट्रिय प्रवासी श्रमीक दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलन गर्दै यस्तो चिन्ता व्यक्त गरेको हो ।
महासंघले वैदेशिक रोजगारीको लागि श्रमीकहरु एजेन्सीमार्फत जानुको सट्टा व्यक्तिगत सम्पर्कको माध्यमबाट विदेशिने प्रवृत्ति बढ्नु डरलाग्दो संकेत भएको बताएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष विनोद श्रेष्ठले विगतमा काम गर्दा खाडी मुलुकमा मात्रै श्रमीकहरु जान्छ भन्ने मान्यता रहेपनि अहिले युरोपदेखि अमेरिकासम्म काम गर्नका लागि श्रमीकहरु विदेशिने गरेको बताउनुभयो । उहाँले जिएजि (जिफन्ट सपोर्ट ग्रुप) बनाएर श्रमीकहरुको अधिकार संरक्षण गर्ने पक्षमा जिफन्टले काम गरिरहेको बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले सोमबार मात्रै जिफन्टले अमेरिकामा काम गर्न पुगेका नेपालीहरुको अधिकार संरक्षणका लागि जिफन्ट सपोर्ट ग्रुप बनाएर काम सुरु गरेको बताउनुभयो । उहाँले वैदेशिक रोजगारमा जाने श्रमीकहरुलाई अनिवार्य रुपमा सामाजिक सुरक्षामा योगदान गर्नुपर्ने व्यवस्थाले गर्दा १३ लाख १ हजार ७८ जना श्रमीकहरुको योगदानसहित सूचिकरण भएको उल्लेख गर्नुभयो ।
अध्यक्ष श्रेष्ठले उनीहरुको योगदान नियमित नहुनाले कोषको स्किमहरुअनुसार श्रमीक स्वयं र परिवारजनले पाउने सुविधाबाट वञ्चित हुनुपरेको बताउनुभयो । जिफन्टले महाधिवेशनबाट लिएको सामाजिक सुरक्षामा मिसन २ मिलियनको नारालाई यस वर्षबाट मिसन २ मिलियन नियमित योगदानसहित भनेर थप स्पष्ट पारेको उल्लेख गर्नुभयो ।
अध्यक्ष श्रेष्ठले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियाको लागि इ–७ भिषा प्रोसेस गर्ने भनेर दक्ष कामदार पठाउन निजी क्षेत्रलाई अघि सार्ने कुराको जिफन्टले विरोध गरेको बताउनुभयो । जापान, स्पेन, पोर्चुगल, रोमानिया, जर्मनी लगायतका मुलुकहरुमा समेत म्यानपावर कम्पनीमार्फत श्रमीक पठाउने विषयमा जिफन्टको ध्यानाकर्षण भएको र यसमा सरकारले नै जिटुजीमार्फत गर्नुपर्ने बताउनुभयो ।
विश्वभर प्रवासी श्रमीकहरुको कामको सुरक्षा र मर्यादाका लागि आवाज उठाउन र सचेतना जागृत गराउन १८ डिसेम्बरलाई अन्तर्राष्ट्रिय प्रवासी श्रमीक दिवस मनाउने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्