काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले भारतबाट साढे ६ सय मेगावट विद्युत आयात गर्न लागिएको बताउनुभएको छ ।
मन्त्री खड्काले नेपाल भित्रको आन्तरिक विद्युत आपूर्तिलाई सहज बनाउनको लागि भारतसँग साढे ६ सय मेगावट विद्युत खरिद गर्न लागिएको बताउनुभएको हो ।
मन्त्री खड्काले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा हिँउदमा विद्युत आपूर्ति सहज बनाउनको लागि भारतसँग साढे ६ सय मेगावट विद्युत आयात गर्ने सहमति भएअनुरुप पुस महिनादेखि नै खरिद गरिने बताउनुभयो । उहाँले गत वर्षको बाढीले जलविद्युत आयोजनाहरुमा धेरै क्षति भएर उत्पादनमा देखिएको कमीको कारण लोडसेडिङ हुन नदिनको लागि भारतसँग विद्युत पुस महिनाबाट खरिद गर्न लागिएको बताउनुभयो ।
मन्त्री खड्काले सरकारले क्षति भएका आयोजनाहरुको निर्माणमा तिब्रता दिएको भन्दै विद्युत माग र आपूर्ति सहज बनाउने विषयमा गम्भिर रहेको बताउनुभयो । उहाँले गत वर्षको भन्दा साढे ३ सय मेगावट जति यस वर्ष उत्पादन थप हुने र हिउँदामा ४० प्रतिशत उत्पादन हुने भएकाले पिक आवरमा समस्या पर्ने भएकाले सकेसम्म लोडसेडिङ हुन नदिने योजनाका साथ कार्यतालिका बनाएको बताउनुभयो ।
मन्त्री खड्काले बेलुका साँझको बेला भारतले चार घण्टा दिनसक्ने बताए पनि भारतसँग थप छलफल गर्ने तयारी रहेको बताउनुभयो । उहाँले भारतका ऊर्जामन्त्री नेपालमा आउने तयारी रहेको भन्दै भारतका ऊर्जामन्त्री नेपाल आएको बेलामा छलफल गरिने बताउनु भयो । उहाँले केही घण्टा बेलुकाको समयमा कुनै ठाउँमा लोडसेडिङ हुने अनुमान भएपनि सकेसम्म हुन नदिने योजना रहेको बताउनुभयो ।
मन्त्री खड्काले भारतबाट नेपालले ९ सय मेगावटसम्म आपूर्ति गर्ने गरेको भन्दै यो वर्ष साढे ६ सय मेगावट आपूर्ति गरिने बताउनु भयो । उहाँले नेपालभित्रै साढे ३ सय मेगावट थप हुने देखिएकाले कम आपूर्ति गर्न लागिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्