१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


सुशासन कायम गर्नेकुरा सरकारको मुख्य लक्ष्य : सञ्चारमन्त्री गुरुङ


208
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन कायम गर्नेकुरा अहिलेको सरकारको मुख्य लक्ष्य रहेको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा द राइजिङ नेपालको ५९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले सुशासन कायम भएमात्रै राजनीतिक स्थिरता कायम हुने बताउनुभयो ।

सञ्चारमन्त्री गुरुङले सरकारको स्थिरताका कायम हुँदै मात्रै विकास निर्माण सम्भव हुने बताउनुभयो । उहाँले सुशासन कायम गर्नका लागि ठूला राजनीतिक दलहरु एकतावद्ध हुनुपर्ने र सोहीअनुसार अहिले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएको बताउनुभयो । उहाँले पुँजीगत खर्च बढाउने कुरा सरकारले प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले अहिलेको सरकारले जनताका माग सम्बोधन गर्नगरी कामहरु अघि बढाइरहेको बताउनुभयो ।

मन्त्री गुरुङले वर्तमान सरकारले आफ्नो कार्यशैलीमा सुधार गरेर काम गरिरहेको बताउनुभयो । उहाँले आजको आवश्यकताअनुसार ऋण सहायता लिनुपर्ने बताउनुभयो । बिस्तारै राजश्व वृद्धि हुँदै गएको बताउनुभयो ।