काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संसदको आगामी अधिवेशनमा औषधि सम्बन्धी विधेयक दर्ता गर्नेगरी मन्त्रालय अघि बढेको बताउनुभएको छ ।
बिहीबारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।
स्वास्थ्यमन्त्री पौडेलले औषधिको सन्दर्भमा पूर्ण रुपमा कानूनी प्रवन्ध नभएको बताउनुभयो । उहाँले औषधि सम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको भन्दै विधेयकमा औषधिका विषयमा धेरै कुराहरु समेटिएको उल्लेख गर्नुभयो । उहाँले नेपालमा १७३ कम्पनीहरुबाट स्वदेशी औषधि उत्पादन भइरहेको र त्यसबाट नेपाललाई आवश्यक पर्ने ५० प्रतिशत औषधि मात्रै पूर्ति गर्न सकिएको उल्लेख गर्नुभयो ।
स्वास्थ्यमन्त्री पौडेलले बाँकी औषधि पूर्ण रुपमा आयात गर्नुपर्ने स्थिति रहेको बतउनुभयो । उहाँले औषधिमा आत्मनिर्भर हुनेकुरा जटिल रहेको बताउनुभयो । उहाँले बढी औषधि आयात गर्नुपर्ने अवस्था रहेको र जटिल रोगका औषधिहरु आयातबाट नै आवश्यकता पूरा गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले स्वदेशी औषधि उत्पादन गर्न प्राथमिकताका साथ कानूनहरु बनाइ प्रवद्र्धन गर्न जरुरी रहेको बताउनुभयो । मन्त्री पौडेलले संघीय सरकारअन्तर्गतका अस्पतालमा औषधिको मूल्य सार्वजनिक रुपमा टाँस गर्न आग्रह गरिएको बताउनुभयो ।
समितिको बैठकमा बोल्दै सांसद देवेन्द्र पौडेलले सरकारले निःशुल्क वितरण गर्ने भनिएका औषधिहरु लुकिछिपी विक्री भइरहेको भन्दै मन्त्री पौडेलको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारले निःशुल्क भएका औषधिको लुकिछिपी विक्री वितरण गर्नेहरुमाथि निगरानी गर्न आवश्यक भएको बताउनुभयो । अस्पतालको अगाडि खोलिएका फार्मेसीहरुमा मन्त्रालयको निगरानी बढाउनुपर्ने बताउनुभयो ।
बैठकमा बोल्दै नेकपा एमालेका सांसद छविलाल विश्वकर्माले सहज ढंगले बिरामीले उपचार पाउने खालको परिस्थिति निर्माण जरुरी रहेको बताउनुभयो । उहाँले सरकारले अस्पतालहरुको निगारनी, नियमनमा जोड दिन आवश्यक रहेको बताउनुभयो । उहाँले अन्तरमन्त्रालय समन्वय, पहल गरेर भएपनि कानूनी अफ्ठ्यारा फुकाउनुपर्ने र सहज उपचारको वातावरण बनाउनुपर्ने बतउनुभयो ।
समितिको बैठकमा औषधि वितरण, मूल्य, बीमा, साझा स्वास्थ्यको विषयमा स्पष्ट रुपमा समन्वयकारी भुमिका स्वास्थ्य मन्त्रालयले खेल्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्