८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर


481
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नागरिकतामा पटक-पटक जन्म मिति संशोधन गरेको तथा राहदानीमा समेत केरमेट गरी अवाञ्छित लाभ लिएको आरोपमा अख्तियारले सिलवालविरुद्ध मुद्दा दायर गरेको हो ।

साथै कुटनीतिक तथा विशेष राहदानीको सुविधा लिएको, बिमा प्राधिकरणको अध्यक्षमा नियुक्ति नै पाउन नहुनमा हालसम्म पनि बहाल रहेको तथा अध्यक्षको हैसियतले प्रयोग गर्न नपाउने अधिकार प्रयोग गरेको जिकीर अख्तियारले गरेको छ । अख्तियारले २०८० साल साउन १५ गतेदेखि हालसम्म लिएको लाभ सुविधा वापतको छत्तीस लाख बैसठ्ठी हजार एक सय चौवन्न रूपैयाँ सोह्र पैसा असुल उपर गर्न पनि अख्तियारले माग गरेको छ ।

सिलवालको जन्ममिति २०१५ रहेको अख्तियारको अनुसन्धानबाट पुष्टि भएको तर उनले पटक पटक जन्ममिति संशोधन गरेर २०१८ बनाएको जिकीर पनि अख्तियारको छ । ३० वर्ष निजामति सेवामा विताएका सिलवाल २०७७ साल माघमा वीमा प्राधिकरणको अध्यक्ष नियुक्त भएका थिए ।