एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल विरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरिएको छ ।
दक्षिण कोरियाका सांसदहरुले राष्ट्रपति युनले पूरै देशमा अराजकता सिर्जना गरी जनतालाई मारमा पारी सैनिक शासन लागु गरेको भन्दै महाअभियोग प्रस्ताव दर्ता गरिएको हो ।
गत बुधबार देशमा सैनिक शासन लागु गरेको केही घण्टामा नै उक्त कानुन फिर्ता लिएतापनि देशमा उनी विरुद्ध चर्केको आन्दोलन मत्थर नहुँदा महाअभियोगको प्रस्ताव दर्ता गरिएको हो ।
राष्ट्रपतिको घोषणाको दुई घण्टा पनि नबित्दै दक्षिण कोरियाली सांसदहरू राष्ट्रिय सभा (संसद्) मा प्रवेश गरे र उहाँको निर्णय रोक्न १ सय ९० सांसदहरूले सैनिक शासन विरुद्ध मतदान गरेपछि राष्ट्रपति युनले आफ्नो निर्णय उल्टाउने घोषणा गर्नुभएको थियो ।
राष्ट्रपति युनले दक्षिण कोरियालाई ‘उत्तर कोरियाको कम्युनिष्ट शक्तिहरूबाट जोगाउन र राज्यविरोधी तत्वहरूलाई परास्त गर्न मार्सल कानुन आवश्यक भएको दाबी गर्नुभएको थियो भने उत्तर कोरियालाई उद्धत गरे पनि राष्ट्रपति युनको निर्णयलाई घरेलु दबाब र घोटालाहरूको श्रृंखलाको प्रतिक्रियाको रूपमा हेरिएको छ ।
राष्ट्रपति युन बिरुद्ध महाअभियोगको प्रस्ताव पेश भएपछी सांसदहरूले अब आगामी दिनहरूमा राष्ट्रपति विरुद्धको महाभियोगमा मतदान गर्नेछन् । संसद्को दुई तिहाई बहुमतबाट महाभियोग अनुमोदन भएको खण्डमा युनले संवैधानिक अदालतमा मुद्दाको सामना गर्नुपर्नेछ । अदालतले पनि उनीविरुद्धको महाभियोग पारित भयो भने त्यसको ६० दिनभित्र नयाँ निर्वाचन हुने प्रावधान रहेकोछ ।
प्रतिक्रिया दिनुहोस्