२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


शनिबार जनकपुर बोल्ट्स र विराटनगर भिड्दै, सबै टोली उत्साहित


4.641k
Shares

काठमाडौं । शनिबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल)का ८ फ्रेन्चाइज टोलीका कप्तानहरूले पहिलो संस्करणका खेलका लागि उत्साहित रहेको बताएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा सबै फ्रेन्चाइज टोलीका कप्तानले एनपिएलको आयोजनालाई लिएर आफूहरू उत्साहित रहेको बताएका हुन् ।

शनिबार जनकपुर बोल्ट्स र विराटनगर किङ्सले एनपिएल उद्घाटन खेलमा प्रतिष्पर्धा गर्दैछन् । उद्घाटन अगाडि भएको पत्रकार सम्मेलनमा सबै फ्रेन्चाइज टोलीका कप्तानले एनपिएल आयोजना हुनु एक्सपोजरको राम्रो माध्यम रहेको र जहाँ आफूहरूले खेल्न उत्साहित रहेको धारणा राखे ।

जनकपुर बोल्ट अनिल साहको कप्तानीमा उत्रँदैछ भने विराटनगरको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् । ग्लोबल स्टारको छवि बनाएका विराटनगरका कप्तान सन्दीपले विभिन्न देशमा फ्रेन्चाइज खेल्दा आफ्नो देशमा पनि विश्वका स्टारसहित राम्रो फ्रेन्चाइज लिग होस् भन्ने चाहना रहँदै आएको र जुन अहिले पूरा भएको बताए ।

साथै उनले यसअघि नेपालमा भएका फ्रेन्चाइज क्रिकेटको योगदान पनि भुल्न नहुने उल्लेख गरे । लेग स्पिनरसमेत रहेका सन्दीपले पहिलो खेलमा जित निकाल्ने लक्ष्यका साथ उत्रने पनि बताए । यता जनकपुर बोल्ट्सको मार्की खेलाडी असिफ सेख हुन् । तर जनकपुर बोल्ट्सले अनिललाई कप्तानी जिम्मेवारी दिएको छ ।

मार्कीलाई कप्तानी जिम्मेवारी नदिने जनकपुर एक्लो टोली हो । कप्तान अनिलले आसिफकै सल्लाहपछि आफू कप्तान बनेको स्पष्ट पारे । उनले केही दिन काठमाडौंमा तयारीसँगै अभ्यास खेल पनि खेलेको र टोली सन्तुलित रहेको बताएका छन् । विराटनगर र जनकपुरबीच शनिबार १२ः१५ खेल हुनेछ ।

जनकपुरले न्युजिल्याण्डका जिमी निसमजस्ता चर्चित र अनुभवी क्रिकेटर भित्राएको छ । विराटनगरसँग ग्लोबल स्टार सन्दीपसँगै न्युजिल्याण्डकै मार्टिन गप्टिलजस्ता आक्रामक ब्याट्सम्यान छन् । त्यसैले पहिलो खेल रोमाञ्चक हुने आशा गरिएको छ ।

शुक्रबार पत्रकार सम्मेलनमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले आफ्नो टोलीमा युवा खेलाडीको बाहुल्यतासँगै शिखर धवन र बाबर हयात स्टारको साथले राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले करिब ६/७ दिनको तयारी गरेको र आफ्नो टोली पनि सन्तुलित रहेकाले राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे । साथै उनले देशमा एनपिएल आयोजनालाई लिएर राम्रो माहोल बनेको र भविष्यमा यसले छुट्टै उचाइ लिने धारणा राखेका छन् ।

अन्तर्राष्ट्रिय ब्रोडकास्टर र अनुभवी खेलाडीको आगमनले एनपिएललाई नयाँ उचाइमा पु¥याउने उनको विश्वास थियो । काठमाडौं गुर्खाजका कप्तान करण केसीले यो एनपिएल युवा खेलाडीहरूलाई आफ्नो ट्यालेन्ट देखाउने राम्रो माध्यम बन्ने विश्वास व्यक्त गरे । साथै उनले आफ्नो टोलीले राम्रो तयारी गरिरहेको पनि बताएका छन् । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले टोलीको तयारी राम्रो भएको र १/२ वटा अभ्यास खेल पनि खेलेकाले राम्रो प्रदर्शन गर्ने बताए । साथै उनले एनपिएललाई लिएर सबै खेलाडी उत्साहित रहेको उल्लेख गरे ।

चितवन राइनोजका कप्तान कुशल मल्लले आफूहरू खेलका लागि उत्साहित रहेको बताए । पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले पोखरामा नै ८/९ दिन अभ्यास गरेको बताए । साथै उनले अभ्यास खेलमा पनि राम्रो भएको र खेलका लागि सबै खेलाडी उत्साहित रहेको उल्लेख गरे । सो अवसरमा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले एनपिएलको आयोजनासँगै नेपाली क्रिकेटले नयाँ उचाई लिने विश्वास व्यक्त गरे ।

आगामी पुष ६ गतेसम्म हुने एनपिएलमा कुल ३२ खेल सञ्चालन हुनेछन् । इन्डियन प्रिमियर लिग (आइपिएल)को टोली चेन्नाई सुपर किङ्समा प्रशिक्षण गरेका राजिव कुमार गरी भारत तीन, नेपालका तीन प्रशिक्षक, आयरल्याण्ड र श्रीलंकाका समान एक जना प्रशिक्षकले फ्रेन्चाइज टोलीको प्रशिक्षण गरिरहेका छन् ।