Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


एसियाली खेलकुद : आज गल्फ र जुडोमा नेपालको प्रतिस्पर्धा


0
Shares

काठमाडौँ । जापानको आइची–नागोयामा जारी एसियाली खेलकुदमा नेपालको गल्फ र जुडोको प्रतिस्पर्धा आजदेखि सुरु हुँदैछ।

गल्फतर्फ सुवास तामाङ, राहुल विश्वकर्मा र तारा कार्कीले प्रतिस्पर्धा गर्नेछन्। सुवास र राहुलले पुरुष व्यक्तिगत स्ट्रोक प्ले तथा टिम स्पर्धामा नेपालको प्रतिनिधित्व गर्नेछन् भने ताराले महिला व्यक्तिगत स्ट्रोक प्लेमा प्रतिस्पर्धा गर्नेछिन्।

नेपालका अर्का गल्फर सद्भाव आचार्य भने स्वास्थ्य समस्याका कारण प्रतियोगिताबाट बाहिरिएका छन्। ज्वरो र ढाडमा समस्या देखिएपछि चिकित्सकले उनलाई प्रतिस्पर्धा गर्न अनुमति नदिएको मुख्य प्रशिक्षक दीपक थापामगरले जानकारी दिनुभयो।

जुडोतर्फ निसा श्रेष्ठ, देवकीमाया श्रेष्ठ, विशेष बिक र विकास विकले नेपालको चुनौती प्रस्तुत गर्नेछन्।

यस्तै, कनोइङ स्लालमतर्फ विजय माझी र आशिष रानामगर पुरुष कायक एकलको सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन्। दुवै खेलाडीले हिजो हिट चरण पार गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन्।

विजय २०२ दशमलव ०६ सेकेन्डको समयसहित १५औँ तथा आशिष २११ दशमलव ८६ सेकेन्डको समयसहित १६औँ स्थानमा रहँदै सेमिफाइनल पुगेका हुन्।

Skip This