१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


कम्बोडियामा लगानीको अफवाह फैलाइयो : प्रधानमन्त्री ओली


2.444k
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र र मौद्रिक नीतिलाई खलबल्याउन कम्बोडियाको टेलिकममा आफ्नो लगानी रहेको अफवाह फैलाइएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंको दरबारमार्गमा पार्टीले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओली कम्बोडियाको टेलिकममा लगानी गरेको अफवाह फैलाइरहेको उल्लेख गर्दै तथ्यसहित बहस गर्न चुनौती दिनुभएको हो ।

प्रधानमन्त्री ओली अहिलेको सरकार भ्रष्टाचार गर्न र आफ्नाहरु पोस्नका लागि नबनेको भन्दै कसैले हल्लाउन नसक्ने जिकिर गर्नुभयो । नेपाली जनताले ठूलो संघर्ष र बलिदान गरेर ल्याएको लोकतन्त्रलाई, सार्वभौम जनताको हैसियतलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

देश र जनताको लागि पहरेदार र सिपाहीका रुपमा नेकपा एमाले रहेको उहाँको भनाइ छ । अलोकतान्त्रिक बाटोबाट अराजकता सिर्जना गरेर समाजलाई भाँड्न खोलिएको प्रधानमन्त्री ओलीले बताउनुभयो । आफूहरु कमिसनखोरी गर्नका लागि सरकारमा नगएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्न र आफ्ना भर्ती गर्न सरकारमा नगएको स्पष्ट पार्नुभयो ।

मुलुकको मौद्रिक नीति सहजतातर्फ फर्किरहेको बताउँदै उहाँले सबै उद्योगीहरुलाई ढुक्क भएर व्यापार व्यवसाय सञ्चलान गर्न आग्रह गर्नुभयो ।