
काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९), बाकुमा सहभागी हुनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपालका तर्फबाट एउटा उच्चस्तरीय सत्र सञ्चालन गर्दै हुनुहुन्छ ।
‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयमा केन्द्रित सत्रमा नेपालले आफ्ना एजेण्डामाथि विश्व समुदायको ध्यानाकर्षण गराउनेछ ।
हिमालको सुरक्षा भनेको पृथ्वीको सुरक्षा हो भन्दै कोप शिखर सम्मेलनमा मंगलबार नेपालका तर्फबाट राष्ट्रपति पौडेलले वास्तविकता मनन गर्न विश्व समुदायलाई आह्वान गर्नुभएको थियो ।
पर्वतीय मुलुकका सेता हिमाल काला पहाडमा परिणत हुने क्रमले ती मुलुकमा मात्र होइन तल्लो तटीय मुलुकहरूलाई सङ्कटमा पुर्याउँछ भन्ने वास्तविकता विश्वले बिर्सन हुँदैन भन्ने कुरामा उहाँले विश्व समूदायको ध्यानाकर्षण गराउनुभएको थियो ।
अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल सोमबार अजरबैजान पुग्नुभएको थियो । सम्मेलनमा ४० देशका राष्ट्रपति वा उपराष्ट्रपति तथा ३५ देशका प्रधानमन्त्रीसहित लगायत जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत व्यक्तित्वहरू विश्वव्यापी छलफल र सहकार्यका लागि सहभागी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्