२४ कार्तिक २०८१, शनिबार | Sat Nov 9 2024


नारायणहिटीमा २१ औं काग सम्मेलन


507
Shares

काठमाडौं । काठमाडौंको नारायणहिटी दरबार क्षेत्रमा २१ औं ‘काग सम्मेलन’ गरिएको छ ।

यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा नारायणहिटी दरबार क्षेत्रमा बुधबार बिहान काग बोलाएर २१ औं काग सम्मेलन गरिएको हो ।

सम्मेलनमा कलाकार रमेश दुलालले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पार्नुभएको थियो । दुलालले कागको स्वर निकालेर बोलाउनु भएपछि कागहरु उहाँको आवाज भएको ठाउँसम्म आइपुगेका थिए । दुलालले विगत २० वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आउनुभएको छ ।

काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ । काग तिहारमा कागलाई मीठा मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ ।

काग सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै दुलालले यमलोकको खबर कागमार्फत पठाउने सन्देशका रुपमा मनाइने गरेको बताउनुभयो । कागलाई दुतको रुपमा पूजा गर्ने गरेको र आफूले विगत २० वर्षदेखि काग सम्मेलन गरेको बताउनुभयो । उहाँले धनगढीमा बस्दा सपनामा कामग कराएको देखेको र विपनामा पनि कागको स्वर निकालेर कराउन शुरु गरेको बताउनुभयो । सपनामा देखेको कुरा विपनामा अभ्यास गरेपछि काम आएकाले काग बोलाएर सम्मेलन गरेको बताउनुभयो ।

कलाकार दुलालले काग सम्मेलनको अवसरमा कागको शुभ संकेत दिँदाको स्वर र अशुभ संकेत दिँदाको स्वर निकालेर सुनाउनुभएको थियो ।

यमपञ्चक (तिहारको पाँच दिन)मा क्रमशः काग, कुकुर, गाई, गोरु र आफ्ना दाजुभाईको पूजा गरिन्छ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीया तिथिसम्म गरी पाँच दिन मनाइन्छ । यसको शुरुवात कात्तिक कृष्ण त्रयोदशीको दिन मनाइने काग तिहारबाट हुन्छ ।

हिन्दु धर्मशास्त्रका अनुसार यमलोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसहरुको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण पृथ्वीलोकमा ल्याउने र लैजाने काम भने कागले गर्छ भन्ने धार्मिक मान्यता रहेको छ । आकाशबाट उडेर छिटो सन्देश ल्याउन लैजानसक्ने भएकाले यमराजले कागलाई आफ्नो दुत बनाएको धार्मिक विश्वास रहेको छ ।

त्यसैले काग तिहारको दिनमा कागलाई पूजाआजा गरेर मिठो खानेकुरा खान दिएमा यसले वर्षभर आफ्नो घरमा दुःखद् सन्देश ल्याउँदैन भन्ने विश्वास रहेको छ । यस्तै काग तिहारको दिन कागको पूजाआजा नगरेमा पापको भागी भइन्छ र मृत्युपछि नर्कमा पुगिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

त्यसैले काग तिहारमा कागलाई घर आँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । यस दिनमा बिहानैदेखि कागको पूजा गरिन्छ, घरबाहिर पात या दुना, टपरीमा विभिन्न खाना राखेर कागलाई खान दिइन्छ । कागको पूजाआजा गर्दै आउँदो वर्षभर कागले आफ्नो घरआँगनमा राम्रो र सुखद् खबरमात्रै ल्याओस् भनेर कामना गरिन्छ ।