काठमाडौं । दशैं लागेसँगै बजारमा किनमेल गर्ने मानिसहरुको चहलपहल शुरु भएको छ ।
काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैंको लागि किनमेल गर्न उपभोक्ताहरु बजारमा निस्कँदा बजारमा चहलपहल देखिन थालेको छ । तर व्यापारीहरुले भने विगतको तुलनामा ७५ प्रतिशत व्यापार कम भएको भन्दै आएका छन् । उनीहरु बजारलाई दशैं नलागेको बताइरहेका छन् ।
काठमाडौं उपत्यकाका मुख्य बजार असन, न्युरोड, महाबौद्ध, भोटाहिटी लगायतका बजारमा सामान किनमेल गर्ने ग्राहकहरुको चहलपहल देखिन थालेको छ । तर उपभोक्ताहरुले हरेक सामान विगतको तुलनामा महँगो रहेको गुनासो गरेका छन् । उनीहरुले हरेक वर्ष चाडपर्व आएसँगै बजारमा जुत्ता, चप्पल, कपडा लगायतका सामानको मूल्य वृद्धि हुँदा उपभोक्ता महँगीको मारमा पर्ने गरेको बताए ।
असन, न्युरोड, महाबौद्ध, भोटाहिटी लगायतका मुख्य बजारमा दशैंका लागि किनमेल गर्न आएका सर्वसाधारणले सोचेभन्दा बजार महँगो रहेको प्रतिक्रिया दिएका छन् । व्यवसायी तथा व्यापारीहरुले पनि गत वर्षको तुलनामा २० प्रतिशतसम्म बजार मूल्य बढेर आएको भन्दै उपभोक्ताको पहँुचभन्दा महँगो भएको स्वीकार गरेका छन् ।
काठमाडौंको रानीवनबाट असनमा किनमेल गर्न आउनुभएका पूर्णचन्द्र भट्टले विगत वर्षको तुलनामा बजार धेरै महँगो भएको बताउनुभयो । उहाँले महिला, पुरुष तथा बालबालिकाले लगाउने कपडा पसलहरुमा मूल्य सूचीहरु समेत नभएको बताउनुभयो । उहाँले सरकारले सबै व्यवसाय दर्ता र वस्तुको मूल्यसूची राख्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले पसलमा मूल्यसूची नहुँदा व्यापारीहरुले जति भने पनि हुने अवस्था देखिएको उल्लेख गर्नुभयो । उहाँले पसलैपिच्छे एउटै सामानको मूल्य फरक–फरक भन्ने गरेको बताउनुभयो । उहाँले ग्राहकले व्यापारीसँग बार्गेनिङ गरिरहनुपर्ने अवस्था बजारमा रहेको बताउनुभयो । उहाँले मुलुकको प्रतिव्यक्ति आम्दानी कम हुँदै जाने तर हरेक वर्ष बजार मूल्यवृद्धि भइरहने अवस्था रहेको बताउनुभयो । उहाँले सरकारले बजारलाई नियन्त्रण गर्न आवश्यक रहेको भन्दै बजार नियन्त्रण नभए आम सर्वसाधारण जनता मूल्यवृद्धिको मारमा परिरहेने अवस्था रहेको बताउनुभयो ।
अर्को काठमाडौंको सुकेधाराबाट किनमेलको लागि आउनुभएकी रुपा गुरुङको भनाइ पनि त्यस्तै छ । उहाँले विगतको तुलनामा बजारमा सामानको मूल्य २ सय रुपैयाँ भएपनि महँगो पाइएको बताउनुभयो । उहाँले दशैँ नेपालीहरुको सबैभन्दा ठूलो चाड भएकाले पनि उपभोक्ताका लागि सहज र सस्तो बजार मूल्य सरकारले बनाउनुपर्ने बताउनुभयो ।
त्यस्तै काठमाडौंको वसुन्धराबाट किनमेलको लागि असन आउनुभएकी स्मृती सेडाईंले पनि सामान्य समयको भन्दा दशैँमा आएर महँगो देखिएको प्रतिक्रिया दिनुभयो । उहाँले काठमाडौंका अन्य बजारभन्दा असनमा सस्तो रहेको बताउनुभयो । उहाँले मानिसहरुकोे केही आम्दानी बढेको र हरेक घरपरिवारमा एक जना विदेश भएकाले विगतको जस्तो नयाँ लुगा लगाउन दशैँ कुर्नुपर्ने अवस्था नभएको बताउनुभयो ।
त्यस्तै, सुमित्रा सेडाईंले दशैँ लागेकाले बजारमा हरेक वस्तु महँगो भएको बताउनुभयो । भक्तपुरबाट न्युरोडमा किनमेल गर्न आएकी क्रिषा भट्टराईले भने फरक प्रतिक्रिया दिनुभएको छ । उहाँले विगतकोभन्दा अहिले सस्तोमा सामान पाउन थालेको बताउनुभयो । उहाँले एक हजार रुपैयाँभन्दा तलको मूल्यमा कुनैपनि सामान नपाउने अवस्थामा अहिले एक हजारमा राम्रो एक जोर लुगा किन्न सकिने अवस्था रहेको बताउनुभयो ।
अधिकांश उपभोक्ताले बजार महँगो भएकाले यो वर्षको दशैँ महँगो हुने भएको प्रतिक्रिया दिए । उनीहरुले बजारमा हरेक लुगादेखि जुत्ता चप्पलसम्मको मूल्यवृद्धि हुँदा सामान्य वर्गका मानिसहरुले महँगीको मार खेप्नुपर्ने अवस्था रहेको छ । —न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्