Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


मिथिला क्षेत्रमा ‘जितिया पर्व’ शुरु


702
Shares

जनकपुरधाम । सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ धनुषालगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ ।

व्रत बस्नुअघि आजको दिन महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रूपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।

त्यसैगरी मङ्गलवारबिहान चार बजेदेखि उपवास बसी निराहार एवं निर्जला व्रत बसी बुधवार बेलुका व्रत सम्पन्न गर्नेछन् । सयौँ बर्तालुले गंगा सागर लगायतका धार्मिक सरोवारमा स्नान गरेर जिमुतवाहनको कथा सुन्ने गर्दछन् । यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ ।

व्रत बस्नु अघिल्लो दिनमै बर्तालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सक्खर र तोरीको तेल सहितका पदार्थ चढाउनु पर्छ । देवतालाई चढाएकै तेल मध्येबाट आ–आफना शाखा सन्तानलाई पनि लगाउन दिनुपर्छ ।

आज पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ भनिन्छ । त्यसैगरी विधिअनुसार भोलि एकाबिहानै काग कराउनुभन्दा पहिल्यै व्रतालु महिलाले ओंगठन सम्पन्न गर्नुपर्छ अर्थात केही खानेकुरा ओठमा लगाउनुपर्छ तर यसपल्ट ओंगठन खाने साइत छ ।

मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रूपमा मानिन्छ । उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । त्यसैले होला यस पर्वलाई खड् जितिया पनि भनिन्छ । फेरि एकपटक असफल भएकी व्रतालु आजीवन व्रत बस्न पाउँदिनन् ।

राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जिमतुवाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत शुरु भएको पौराणिक कथन छ ।