काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले बगाएको बेत्रावतीस्थित पुलको विकल्पमा निर्माण गरिएको नयाँ मोडुलर एक्रो ब्रिज (बेलिब्रिज) सञ्चालनमा आएको छ।
पुल निर्माण सम्पन्न भएसँगै आइतबारदेखि उक्त खण्डमा सवारीसाधनको आवागमन औपचारिक रूपमा सुचारु भएको हो।भोटेकोशी नदीमा आएको भीषण बाढीले बेत्रावतीस्थित पुल बगाएपछि उक्त सडक खण्डको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। लामो समयसम्म सवारी आवागमन अवरुद्ध हुँदा स्थानीयवासी तथा यात्रुहरूले सास्ती भोग्दै आएका थिए।
पुल निर्माणका लागि सडक विभाग, स्थानीय प्रशासन र नेपाली सेनाले प्राथमिकताका साथ काम अघि बढाएका थिए। प्राविधिकहरूको निरन्तर प्रयासपछि उक्त स्थानमा मोडुलर एक्रो ब्रिज जडान गरी यातायात सञ्चालन गर्न सकिने अवस्था बनेको हो।
आइतबार बिहान ११ बजेदेखि पुलको उद्घाटन गरी सवारीसाधनलाई आवतजावतको अनुमति दिइएको छ। पुल सञ्चालनमा आएसँगै अवरुद्ध सडक खण्ड पुनः सञ्चालनमा आएको हो।
बेलिब्रिज सञ्चालनमा आएपछि उक्त मार्ग हुँदै हुने दैनिक उपभोग्य वस्तुको ढुवानी सहज हुनुका साथै स्थानीयवासीको जनजीवन सामान्य बन्ने अपेक्षा गरिएको छ। लामो समयदेखि सडक सम्पर्क विच्छेद हुँदा समस्या भोगिरहेका स्थानीयले पुल सञ्चालनमा आएसँगै राहत महसुस गरेका छन्।









प्रतिक्रिया दिनुहोस्