भक्तपुर । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले निजी क्षेत्रसँगको सहकार्यमा बजारको मागअनुसार सीपयुक्त जनशक्ति उत्पादन गरी रोजगारीसँग जोड्ने बताउनुभएको छ।
आइतबार भक्तपुरमा एभरेष्ट मल्टिस्किल प्रा.लि.द्वारा सञ्चालित सीपमूलक तालिम केन्द्रको उद्घाटन गर्दै मन्त्री यादवले युवाले रोजगारी नपाउने र रोजगारदाताले दक्ष जनशक्ति प्राप्त गर्न नसक्ने अवस्थाको अन्त्य गर्न सीप विकासलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।
उहाँले उद्योग, निर्माण, पर्यटन, कृषि, सूचना प्रविधि तथा सेवा क्षेत्रमा दक्ष जनशक्तिको माग रहेको उल्लेख गर्दै तालिम केन्द्रमार्फत युवालाई बजारको आवश्यकताअनुसार सीप सिकाएर रोजगारीमा जोड्नुपर्नेमा जोड दिनुभयो।
सीप विकास कार्यक्रमलाई प्रभावकारी बनाउन सरकार, निजी क्षेत्र, तालिम प्रदायक संस्था र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ। मन्त्री यादवले रोजगारदाता तथा उद्योगी व्यवसायीलाई तालिम केन्द्रसँग सहकार्य गर्न, प्रशिक्षार्थीलाई व्यावहारिक अनुभव प्रदान गर्न र सीपयुक्त युवालाई रोजगारीको अवसर उपलब्ध गराउन आग्रह गर्नुभयो।
उहाँले तालिम केन्द्रको सफलता तालिम लिने व्यक्तिको संख्याबाट मात्रै मापन गर्न नहुने बताउनुभयो। तालिमपछि कति जनाले रोजगारी प्राप्त गरे, कति जनाले उद्यम सुरु गरे र उनीहरूको आम्दानीमा कति सुधार आयो भन्ने आधारमा पनि उपलब्धिको मूल्याङ्कन गर्नुपर्ने उहाँको भनाइ छ।
मन्त्री यादवले युवालाई प्रमाणपत्रमा मात्र सीमित नराखी व्यावहारिक सीप र काम गर्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “नेपालको प्रमुख चुनौती बेरोजगारी मात्र होइन, बजारले खोजेको सीप र हामीले उत्पादन गरिरहेको जनशक्तिबीचको अन्तर पनि हो। त्यसैले हाम्रो प्राथमिकता बजारको मागअनुसार सीप, सीपअनुसारको रोजगारी र रोजगारीबाट आत्मनिर्भरता हुनुपर्छ।”
उहाँले युवालाई इमानदार श्रमको सम्मान गर्दै सीप, मेहनत, अनुशासन र निरन्तर सिक्ने बानीमार्फत आत्मनिर्भर बन्न आग्रह गर्नुभयो। तालिमलाई प्रमाणपत्र प्राप्त गर्ने माध्यममा मात्र सीमित नराखी भविष्य निर्माणको आधार बनाउनुपर्ने उहाँको भनाइ छ।
सरकारको लक्ष्य युवालाई विदेश जानबाट रोक्नु मात्र नभई नेपालमै सम्मानजनक रोजगारीका अवसर सिर्जना गर्नु र वैदेशिक रोजगारीमा जाने युवालाई पनि दक्ष, सुरक्षित तथा मर्यादित श्रमिकका रूपमा स्थापित गर्नु रहेको मन्त्री यादवले बताउनुभयो।
उहाँका अनुसार श्रम, युवा तथा रोजगार मन्त्रालयले आन्तरिक रोजगारी प्रवर्द्धन, सीप विकास, उद्यमशीलता र श्रमिकको सम्मानलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ। सीप भएका युवाले अवसर पाउने, मेहनत गर्नेले सम्मान प्राप्त गर्ने र उद्यम गर्न चाहनेले आवश्यक सहयोग पाउने वातावरण निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो।
नवनिर्मित तालिम केन्द्रले गुणस्तरीय तालिममार्फत दक्ष जनशक्ति उत्पादन, रोजगारी सिर्जना र स्थानीय आर्थिक विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गर्दै मन्त्री यादवले युवालाई उपलब्ध सीप विकासका अवसरको उपयोग गर्न आग्रह गर्नुभयो।
सीपयुक्त युवा, सम्मानित श्रम, सिर्जनशील उद्यम र समृद्ध नेपाल निर्माण साझा सङ्कल्प हुनुपर्नेमा उहाँले जाेड दिनुभयो।









प्रतिक्रिया दिनुहोस्