काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले अराजक, अशिष्ट र अमर्यादितहरूको क्रिडास्थल समाज नचाहेको बताउनुभएको छ । बिहीवार सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस मुल समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले पाका उमेरकाले तन्नेरीलाई स्नेह गर्ने, युवा वयस्कले ज्येष्ठ नागरिकहरूको सम्मान गर्ने नमूना समाज देशले चाहेको बताउनुभयो । शान्त, सभ्य र सुसंस्कृत, सुखसहितको समृद्धिको समाज आफूहरुले चाहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, स्वस्थ प्रतिष्पर्धासहितको व्यवस्था भएको उल्लेख गर्दै सबैलाई अधिकार, अवसरमा समान पहुँच, समानता, सामाजिक न्याय, सुरक्षा र मर्यादा सहितको लोकतन्त्र रहेको बताउनुभयो ।
‘हामी सबै मिलेर सबै जात जाति, भाषा संस्कृतिको रक्षा, प्रवद्र्धन र विकासबाट राष्ट्र बन्छ, देश बन्छ । हाम्रो राज्यव्यवस्था सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो । यो कुनै वंशको निरङ्कुश शासनको निरन्तरता होइन, जनताले आफ्नो शासक आफैँले छान्ने विधिद्वारा परिचालित प्रगतिशील प्रणाली हो । अब यो पछाडि फर्किंदैन । यो अन्यायी राज्यव्यवस्था अन्त्य गरी हामी जनता आफैँले सिर्जना गरेको नयाँ राजनीतिक व्यवस्था हो । यस व्यवस्थालाई बलियो बनाउनु र यसको पक्षमा उभिनु हामी सबैको परम कर्तव्य र दायित्व हो ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले वर्तमान शासन व्यवस्थालाई बलियो बनाउनु र यसको पक्षमा उभिनु सबैको कर्तव्य र दायित्व भएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्