काठमाडौं । नेपाल, पौभा लगायतका मौलिक चित्रकलाले भरिएको मुलुक हो । यहाँ धेरै सिद्धहस्त कलाकारहरु पनि रहेका छन् । जसले आफना पूरै जीवन कला क्षेत्रमा समर्पित गर्दै आइरहेका छन् ।
८४ वर्षीय वरिष्ठ कलाकार शारदा चित्रकार नेपाली कला क्षेत्रको एक हस्ताक्षर हुनुुहुन्छ । जसले क ख ग सिक्नु अघिनै कलिलै उमेरमा देउताको आँखा बनाएर कला यात्रा शुरु गर्नुभएको हो । महिलाले दैलोबाट बाहिर निस्कनु हुदैन भन्ने समयमा बुबाको प्रेरणा र सिकाइले उहाँलाई कला क्षेत्रमा दरिलो उपस्थिति जनाउन सौभाग्य पनि मिलेको थियो ।
वंशगत र पेशागत चित्रकारीताको बिँडो समेत उहाँले यो उमेरमा पनि थाम्दै आउनु भएको छ । बुबाले आफनै नाममा शारदा आर्ट स्टुडियो खोलेपछि झन कला क्षेत्रमा लाग्ने प्रेरणा पाएका चित्रकारको हाल हिमालयन आर्ट फेस्टिभलमा चित्रकलाहरु प्रर्दशनीका लागि राखिएका छन् । जहाँ उहाँको ६३ वर्ष अघिदेखि हालसम्म विभिन्न माध्यमबाट बनाइएका दर्जनौं चित्रकलाहरु राखिएका छन् । बुबाको साथ र सहयोग नपाएको भए यो स्थानसम्म आइपुग्न गाहे हुने थियो, चित्रकार बताउनुहुन्छ ।
घरमा बोलाउने नाम ज्ञानीहिरा भएको उहाँ साँच्चै नेपाली कला क्षेत्रमा ज्ञानीहिरा बनेरै सिद्धहस्तका रुपमा परिचित हुनुहुन्छ । हाल नेपालका मौलिक परम्परागत चित्रकला पनि ओझेलमा पर्ला कि भन्ने उहाँको चिन्ता छ ।
२०२३ सालमा प्रथम राष्ट्रिय कलाप्रदर्शनीमा आफनै बज्यैको मुहार चित्र बनाएर सान्त्वना पुरस्कार प्राप्त गरेको उहाँले जीवनमा थुपै्र पुरस्कार र सम्मानहरु पाउनु भएको छ । युवा पुस्ताले नेपालको मौलिक परम्परागत चित्रकलालाई संरक्षण गर्न सक्नु पर्ने उहाँको भनाइ छ ।
शारदा चित्रकार उमेरसम्म पनि निरन्तर कला क्षेत्रमा समर्पित हुनु कलाकारहरुका लागि प्रेरणाको स्रोत पनि हो । कलम, कुची र रगंसँग खेल्ने कलाकारहरुले उहाँको कला साधना र यात्राबाट धेरै कुरा सिक्न सके मौलिक कला सम्पदाको संरक्षणमा टेवा पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्