काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकले विश्वका कुनैपनि ठाउँमा रहेर मतदान प्रयोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न सरकारले काम गरिरहेको बताउनुभएको छ ।
दक्षिण एशियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२ औँ सम्मेलनको बुधवार काठमाडौंमा उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
हिमाल पग्लिनुका साथै समुद्रको तापक्रम बढ्दा जलवायु परिवर्तनमा पर्ने प्रतिकूल असरले मानव जीवनमा आउने चुनौतीका बीच लोकतन्त्रको अभिन्न अंगका रुपमा रहेको निर्वाचन प्रक्रियालाई अगाडि बढाउनु साझा दायित्व भएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्ने र सोहीअनुसारको उचित वातावरण बनाउन सरकारले प्रयास गरिरहेको बताउनुभयो । उहाँले बसाईंसराइ, जलवायु परिवर्तन र सामाजिक सञ्जालका अवसर र चुनौतीबीच देश—विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउन साझा प्रयास आवश्यक रहेको बताउनुभयो । उहाँले हरेक निर्वाचनले जनताको इच्छा र आकंक्षालाई प्रतिविम्वित गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कुनैपनि नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न सक्नुपर्छ । यसका लागि उचित वातावरण बनाउन हाम्रो प्रयास हुनेछ । बसाईंसराई, जलवायु परिवर्तन र सामाजिक सञ्जालका अवसर र चुनौतीबीच देश—विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउनु हामीले साझा प्रयास गर्न आवश्यक छ ।’
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालले मतदाताको अधिकारलाई सुसूचित गर्न सघाउनुका साथै मिथ्या सूचना, गलत सूचना र घृणास्पद अभिव्यक्ति प्रवाह पनि गरिरहेको सन्दर्भमा विगतका निर्वाचन व्यवस्थानका कमजोरीबाट सिक्दै लोकतान्त्रिक मूल्य, मान्यताका साथ स्वच्छ, स्वतन्त्र, जवाफदेही र पारदर्शी निर्वाचनको दायित्व पूरा गर्नसके आम जननाको मताधिकारको सम्मान हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्