Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


बाढी पहिरोबाट २१० जनाको मृत्यु


1.5k
Shares

काठमाडौँ । अविरल वर्षाका कारण यस वर्षको मनसुनमा बाढी, पहिरोका कारण २१० जनाको मृत्यु भएको छ । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदमा परेर बुधबार दिउँसोसम्ममा २१० जनाको मृत्यु भएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए अनुसार बाढी, पहिरो लगायतका विपदबाट काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २९ जना, मधेश प्रदेशमा आठ जना, बागमती प्रदेशमा ४६ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३८ जना, कर्णाली प्रदेशमा १४ जना र सुदूरपश्चिम प्रदेशमा १६ जना गरी जम्मा दुई सय १० जनाको मृत्यु भएको छ ।

प्रवक्ता कार्कीले जनाए अनुसार बाढी पहिरोका कारण काठमाडौँ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ४२ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ४७ जना, लुम्बिनी प्रदेशमा २५ जना, कर्णाली प्रदेशमा ६८ जना र सुदूरपश्चिम प्रदेशमा ३६ जना गरी जम्मा दुई सय ७२ जना घाइते भएका छन् ।

यस्तै बाढीपहिरोबाट काठमाडौँ उपत्यकामा ३३ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा चार जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा एक सय एक जना गरी २१५ जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताउनुभयो ।

यसैगरि बाढी पहिरोमा परी कोशी प्रदेशमा तीन जना, मधेश प्रदेशमा एक जना, बागमती प्रदेशमा ४३ जना, गण्डकी प्रदेशमा दुई जना, लुम्बिनी प्रदेशमा एक जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी ५२ जना बेपत्ता भएको प्रवक्ता कार्कीले बताउनुभयो । बेपत्ताको खोजी कार्य भइरहेको जनाइएको छ ।

प्रवक्ता कार्कीका अनुसार बुधबार दिउँसोसम्ममा ४०८ घर डुबानमा परेका छन् भने ३६५ वटा घर, १२६ वटा गोठ, ५३ वटा पुल, सात वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । यस्तै बाढीपहिरोबाट नौ सय ७२ वटा पशुचौपाया मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट ६०४९ घर परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।