फिलिपिन्स, भदौ ३० । फिलिपिन्समा शनिबार शक्तिशाली आँधी आएपछि जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।
आँधीका कारण अहिलेसम्म तीनजनाको मृत्यु भएको र अरु चारजना घाइते भएका विवरण प्राप्त भएको अधिकारीहरुले जनाएका छन् ।
फिलिपिन्सको उत्तरी क्षेत्रमा आएको आँधी र वर्षाले आफ्नो मार्गमा पर्ने क्षेत्रको धेरै भौतिक संरचनामा क्षति पुर्याउने अनुमान गरिएको छ । यस आँधीको मार्गमा ४० लाखभन्दा बढी मानिसहरू रहेका छन् ।
प्रतिघन्टा १८५ किलोमिटरका दरले आँधी आएको मौसम अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले आँधी आउने बेलामा घरबाहिर ननिस्कन र सुरक्षित तरिकाले घरभित्रै बस्न आह्वान गरेका थिए ।
स्थानीय समयानुसार शुक्रबार राति १ बजेर ४० मिनेटपछि आँधी त्यहाँ आइपुगेको थियो । आँधीपछि उक्त क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । हजारौं मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।
आँधी आउँदो मंगलबारसम्म नै जारी रहने अनुमान गरिएको छ । यो अवधिमा सामुद्रिक र हवाईयात्रामा रोक लगाइएको छ भने विद्यालयहरू बन्द गरिएका छन् ।
फिलिपिन्समा प्रत्येक वर्ष औसतमा २० ओटा यस्तै आँधी आउने गरेका छन् भने सयौंको मृत्यु हुने गरेको छ । त्यसैका कारण दशौं लाख गरिबीको रेखामुनि पर्ने गरेका छन् ।
त्यसैगरी, हजारौं बासिन्दा बाढी–पहिरोबाट पनि प्रभावित हुने गरेको जनाइएको छ । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्