२५ मंसिर २०८१, मंगलबार | Tue Dec 10 2024


मन्दिरहरुमा जनै र रक्षाबन्धन धारण गर्नेहरुको भीड (तस्बिरहरु)


143
Shares

काठमाडौं । आज जनैपूर्णिमा । हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन जनै पूर्णिमा (ऋषि तर्पणी) मनाउने गरिन्छ ।

आज (सोमवार) बिहानैबाट यज्ञोपवित एवं रक्षाबन्धन धारण गरेर जनैपूर्णिमा मनाइँदैछ । आज दिनभर नै रक्षावन्धन र जनै लगाउने गरिन्छ ।

आज विहानैदेखि पाटनको कुम्भेश्वरसहित देशभरका मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको छ । पशुपतिनाथ, गोकर्णेश्वर, सन्तानेश्वर, किराँतेश्वर, तनहुँको देवघाट धाम, रसुवाको गोसाईकुण्ड, लगायतका धार्मिक स्थलमा बिहानैदेखि स्नान गरी शुद्ध हुने र मन्दिरमा व्राह्मण, पुरोहितहरुले मन्त्रिएका जनै र रक्षाबन्धन लगाउने प्रचलन छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्वीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं रक्षासूत्र बाँध्ने गर्दछन् ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी कवचको रुपमा घेरेर राख्दा अत्यन्त बलशाली दानवराज बली बाँधिएका, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षावन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

रक्षावन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन वद्धो बलिराजा दानवेन्द्रो महाबल, तेनत्वां प्रतिवध्नामि रक्षमा चल मा चल’ भन्ने मन्त्रसहित रक्षासूत्र बाँध्ने वैदिक परम्परा रहेको छ ।

साथै राजा बलीको घमण्ड तोड्नका लागि भगवान विष्णुले वामनको रुप लिएको र भिक्षा माग्दा बलीले आफूसँगै बस्नुपर्ने वाचासहित आफ्नो शिरमा अन्तिम पाउ राख्न लगाएको पौराणिक कथा छ ।

लक्ष्मीले राजा बलीलाई राखी बाँधेर आफ्नो दाजु बनाएपछि आफ्नो श्रीमान विष्णुलाई आफूसँग ल्याउन पाएको र संयोगले त्यो दिन श्रावण महिनाको पूणिर्मा तिथि रहेको र त्यस समयदेखि नै रक्षा वन्धनको पर्व मनाउने प्रचलन भएको मान्यता हिन्दु ग्रन्थहरुमा उल्लेख छ ।