काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति प्रतिवेदन लेखनमा केन्द्रित हुने भएको छ ।
शनिबार सिंहदरबारमा बसेको सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समिति सभापति सूर्यबहादुर थापाले यस्तो बताउनुभएको हो ।
सभापति थापाले समिति शोधपुछको कार्य अन्तिमतिर आइपुगेको र अब प्रतिवेदन लेखनको काममा लाग्ने बताउनुभयो । उहाँले समितिले विभिन्न मुद्दामा कारागारमा रहेका सहकारी सञ्चालकहरुसँग बयान लिने काम लगभग सकिएको बताउनुभयो ।
सभापति थापाले आजको बैठकमा नख्खु कारागारमा रहेका कृषि विकास बहुउद्देश्य सहकारी संस्था तथा कृषि विकास वचत तथा ऋण सहकारी संस्थाका ललितपुर र भक्तपुरमा कार्यक्षेत्र भएका दुई वटा संस्था सञ्चालन गर्दै आउनुभएका तेजविक्रम थापालाई बोलाएर शोधपुछ गरेको बताउनुभयो । उहाँले पछिल्लो समयमा जिबी राईको नेतृत्वमा पुगेको हाम्रो नयाँ कृषि बहुउद्देश्य सहकारी संस्था भक्तपुरका पूर्वअध्यक्ष सूर्यबहादुर गुरुङ र ज्येष्ठ लगायत ८ वटा सहकारी संस्थासँग संवद्ध मधुसुदन पाठकसँग शोधपुछ गरेको पनि बताउनुभयो ।
सभापति थापाले समितिले धरान उपमहानगरपालिकको नियमनमा रहेको बराह वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्मासँग पनि शोधपुछ गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्