२५ मंसिर २०८१, मंगलबार | Tue Dec 10 2024


संहिताहरुको कार्यान्वयनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गरिदिन प्रधानन्यायाधीश श्रेष्ठको आग्रह


429
Shares

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकालाई संहिताहरुको कार्यान्वयनका लागि आवश्यक साधनस्रोत र जनशक्तिको व्यवस्थापन गरिदिन सरकारलाई आग्रह गर्नुभएको छ ।

शनिबार मुलुकी संहिता दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिका एवं सम्बन्धित निकायहरुलाई संहिताहरुको कार्यान्वयनका लागि आवश्यक पर्ने न्युनतम जनशक्ति र साधनस्रोतको व्यवस्थापन गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो ।

प्रधानन्यायाधीश श्रेष्ठले कानूनी व्यवस्थाहरु आफैँमा कार्यान्वयन नहुने भन्दै त्यसका लागि आवश्यक पूर्वाधार, क्षमता र प्रतिवद्धता आवश्यक हुने बताउनुभयो । उहाँले जतिसुकै राम्रो कानूनको निर्माण भएपनि त्यसको प्रभावकारी कार्यान्वयन नभए कानूनको उद्देश्य पूरा हुन नसक्ने बताउनुभयो ।

प्रधानन्यायाधीश श्रेष्ठले संहिताहरुको प्रभावकारी कार्यान्वयनका लागि अदालत एवं सम्बन्धित निकायहरुका जनशक्तिमा अवधारणागत स्पष्टता, क्षमता एवं संहिताहरुको प्रयोगमा एकरुपता आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रधानन्यायाधीश श्रेष्ठले संहिता कानूनहरुको कार्यान्वयनमा एकरुपता र प्रभावकारिताको लागि आपसी सहयोग र समन्वयलाई थप मजबुत बनाउन नेपाल प्रहरी, महान्यायाधिवक्ताको कार्यालय, नेपाल बार एशोसिएशनलाई आग्रह गर्नुभयो ।