२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


मुलुकमा सदाचारका लागि आवश्यक कानून ल्याउन सरकार प्रतिवद्ध छ : कानूनमन्त्री चौरसिया


65
Shares

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सदाचार नीतिका लागि आवश्यक कानून ल्याउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

मंगलबार संघीय संसद, राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री चौरसियाले मुलुकमा नैतिक मूल्य र मान्यतालाई स्थापित गराउन आफू जस्तोसुकै कडा कानून बनाउन पनि तयार रहेको पनि स्पष्ट पार्र्नुभयो । राष्ट्र निर्माणका लागि सबभन्दा आवश्यक तत्व सदाचार नीति भएको उल्लेख गर्दै मन्त्री चौरसियाले त्यसलाई अघि बढाउने गरी बहसको शुरुवात गर्न पनि सांसदहरुलाई आग्रह गर्नुभयो । उहाँले भ्रष्ट र ठगहरुलाई बल दिने गलत अभ्यासको अन्त्य हुनेगरी विद्यालय तहको पाठयक्रममा नै नैतिक शिक्षाको पठनपाठन हुने व्यवस्था फेरि गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

यता सांसदहरुले पनि मुलुकमा सुशासन ल्याउनका लागि कडा कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका थिए । सत्तारुढ नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद पौडेलले सुशासन ल्याउने कुरामा सम्पूर्ण समय खर्च गर्न मन्त्रीलाई सुझाव समेत दिनुभयो । उहाँले मुलुकमा धेरै निराशा बढ्नुको पछाडि सुशासन नहुनु रहेको औंल्याउँदै त्यसलाई चिरेर सरकार अघि बढनुपर्ने बताउनुभयो ।

सांसद डा. अञ्जान शाक्यले जनताप्रति उत्तरदायी हुने सदाचारका बारे विद्यालय र विश्वविद्यालय तहमा पनि अध्ययन, अध्यापनको काम हुनुपर्ने बताउनुभयो । उहाँले मुलुकमा सदाचार स्थापित गराउन सांसदहरुले पनि विशेष अभियान सञ्चालन गर्नुपर्ने बताउनु भयो ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद झक्कुुप्रसाद सुवेदीले जनताप्रति उत्तरदायी नहुनेहरुलाई कडा कारबाही हुनेगरी सरकारले कानूनी व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले सदचार नीति बनाउनु अघि राष्ट्रव्यापी रुपमा बहस सुरु गर्नुपर्ने आवश्यकता पनि औंल्याउनुभयो ।

सांसद सुवेदीले विज्ञ र सरोकारवालाहरुसँग व्यापक छलफल गरेर मात्रै सदाचार नीति ल्याउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।