काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस पार्टीको केन्द्रिय कार्यसमिति बैठकमा बोल्दै नेताहरुले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउनुपर्नेमा जोड दिएका छन् ।
केही दिनदेखि जारी कांग्रेस केन्द्रिय कार्यसमितिको बैठकमा धारणा राख्दै नेताहरुले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउनुपर्नेमा जोड दिएका हुन् ।
सोमबारको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले नेताहरुले सरकारलाई असफल हुने छुट नभएको धारणा राखेका बताउनुभयो । उहाँले कांग्रेसका मन्त्रीहरुले सुशासनको विषयमा खरो रुपमा उत्रिएर सरकारमा सशक्त भुमिका निर्वाह गर्नुपर्नेमा पनि कांग्रेसका नेताहरुले जोड दिएका बताउनुभयो ।
त्यसैगरी केन्द्रिय सदस्यहरुले पार्टीको महासमिति बैठकमा आएका सुझावहरुको प्रतिविम्बको रुपमा केन्द्रिय समितिको निर्णय आउनुपर्ने पनि बताएका थिए । नेताहरुले पार्टी संगठनलाई बलियो बनाउने र आगामी निर्वाचनमा बहुमत ल्याउनेगरी अघि बढ्नुपर्ने पनि बताएका थिए ।
प्रवक्ता महतले गठबन्धन सरकार बनाउँदा गरिएको सहमतीमा संविधान संशोधनको बुँदा पनि समेटिएको भन्दै नेताहरुले संविधान संशोधनको रुप कस्तो हुने भनेर चासो पनि राखेका जानकारी दिनुभयो । समावेशिताको मर्म र भावनालई कमजोर नगरी संशोधन गर्नुपर्नेमा नेताहरुले जोड दिएका उहाँको भनाई छ ।
प्रवक्ता महतले केन्द्रिय समिति बैठक आगामी भदौ ७ गते दिउँसो १ बजे बस्नेगरी बोलाइएको जानकारी दिनुभयो । बैठकमा पदाधिकारी र पूर्व पदाधिकारीहरुले बोल्न बाँकी रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्