काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले समय अवधिभित्रै प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
शुक्रबार समिति सभापति सूर्यबहादुर थापाले बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समितिले सहकारीको छानविनका लागि निरन्तर काम गरिरहेको भन्दै समयमा नै सम्पन्न गर्ने जानकारी दिनुभएको हो ।
सभापति थापाले समितिले अहिले सहकारीका सञ्चालक तथा अध्यक्षहरुलाई बोलाएर सोधपुछ गरिरहेको बताउनुभयो । उहाँले कारागारमा रहेकाहरुलाई गृह मन्त्रालयको समन्वयमा समितिको बैठकमा नै ल्याएर लिखित बयान लिइरहेको बताउनुभयो । उहाँले समितिले सहकारी ठगेर विदेशतिर भागेका १८ जनालाई नेपाल ल्याउन गृहमन्त्रालयलाई निर्देशन दिएपनि पछि थप गरेर २१ जनालाई नेपाल ल्याउन गृह मन्त्रालयलाई पत्रचार गरेको बताउनुभयो ।
सभापति थापाले सरकारबाट केही जानकारी नआएको बताउनुभयो । उहाँले २१ जना विदेशमा रहेका सहकारी वचत अपचलन गरेको आरोपमा छानविनका लागि जरुरी रहेकाले जुनसुकै देशमा भएपनि समितिले समयमा नै छानविनको लागी ल्याउन सरकारसँग आग्रह गरेको बताउनुभयो । उहाँले समितिले आगामी एक गतेसम्म सहकारीका सञ्चालक तथा अध्यक्षहरुसँग बयान लिने कार्य सक्ने योजना रहेको बताउनुभयो ।
सभापति थापाले कारागारमा करिब ३ सय जना रहेकाले सबैलाई सोधपुछ गर्न सम्भव नभएको भन्दै प्रतिनिधि मुलुक रुपमा अर्बौं रुपैयाँ अपचलन भएका सहकारीका अध्यक्ष र सञ्चालकलाई सोधपुछ गर्नेगरी नामावली तयार गरेर सोधपुछको काम भइरहेको बताउनुभयो । उहाँले समितिले प्रतिवेदनको मस्यौदाको काम पनि अगाडि बढाएको बताउनुभयो ।
सभापति थापाले सोधपुछ र वित्तीय विश्लेषणको कामसँगै भएको भइरहेको भन्दै सबै प्रक्रियाका आधारमा समितिको प्रतिवेदन तयार पार्ने भएकाले समयमा नै सम्पन्न गर्ने योजना रहेको बताउनुभयो । उहाँले गोर्खा मिडिया प्रा।लि।का तत्कालीन अध्यक्षसहित पदाधिकारीसँग सोधपुछ गर्ने उल्लेख भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि समितिमा बोलाएर बयान लिने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्