१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली आवश्यक : स्वास्थ्यमन्त्री पौडेल


455
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी रहेको बताउनुभएको छ ।

शनिबार वीर अस्पतालको १३५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

स्वास्थ्यमन्त्री पौडेलले वीर अस्पताल भित्रका सबै इकाइहरुको समन्वय हुन आवश्यक रहेको पनि बताउनुभयो । उहाँले व्यवस्थापकीय पक्षमा उल्लेख्य सुधार हुन नसकेको जिकिर गर्दै राम्रोसँग सुधार र समन्वय गर्नसके भइरहेको जनशक्तिबाट नै राम्रो परिणाम दिन सकिने बताउनु भयो ।

स्वास्थ्यमन्त्री पौडेलले खरिद प्रक्रियाका बारेमा उठेका प्रश्नहरु परादर्शी बनाउन आवश्यक रहेको बताउनुभयो । वीर अस्पतालको सबै व्यवहार र कारोबार पारदर्शी हुने व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले वीर अस्पतालले प्रभावकारी सेवा प्रवाह गर्न नसकेको गुनासो आइरहेको भन्दै इमर्जेन्सी सेवा, अप्रेसनका लागि वर्ष दिन कुर्नुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो । सेवाग्राहीहरुले सेवा लिँदा सन्तुष्टि प्राप्त नगरेको जनगुनासो आएको भन्दै त्यसमा पनि विशेष ध्यान दिन निर्देशन दिनुभयो ।

कार्यक्रममा बोल्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति डा. भूपेन्द्र बस्नेतले वीर अस्पतालले विशिष्ट र अतिविशिष्ट सेवाहरुमा धेरे केन्द्रित गरिरहेको बताउनुभयो । उहाँले वीर अस्पताल अति नै विशिष्टिकृत अस्पताल बनाउने गरी काम गरिरहेको बताउनुभयो । उहाँले बिरामीले सहज र गुणस्तरीय सेवा प्रदान गर्नेकुरामा केन्द्रित भइ काम गरिरहेको बताउनुभयो ।

स्वास्थ्यमन्त्री पौडेलले इमर्जेन्सी सेवालाई सय शैय्यामा बिस्तार गर्न लागेको र टेण्डर प्रक्रियामा जान लागेको पनि बताउनुभयो । उहाँले हालैमात्र योग्यता/क्षमताको आधारमा सय जना नर्स राखेको पनि बताउनुभयो ।