२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024


३३ औँ गृष्मकालीन ओलम्पिक आजदेखि पेरिसमा शुरु हुँदै


455
Shares

काठमाडौं । ३३ औँ गृष्मकालीन ओलम्पिक आजदेखि फ्रान्सको राजधानी पेरिसमा शुरु हुँदैछ । पेरिस ओलम्पिकमा समावेश केही खेलहरू शुरु भएपनि प्रतियोगिताको औपचारिक उद्घाटन सेन नदीमा भव्य समारोहबिच हुन लागेको हो ।

पेरिस ओलम्पिकमा नेपालबाट ६ खेलका सात खेलाडीको सहभागिता रहेको छ । जसमा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका एलेक्जान्डर शाह र डुवाना लामा तथा जुडोकी मनिता श्रेष्ठ प्रधानले प्रतिस्पर्धा गर्दैछन् ।

टेबलटेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिताले छनोट चरण पार गरेर ओलम्पिक यात्रा तय गरेका हुन् । साउन २७ गतेसम्म चल्ने यस ओलम्पिकमा दुई सय ६ देशका खेलाडीले विभिन्न ३२ खेलमा प्रतिस्पर्धा गर्नेछन् । जसमा तीन सय २९ इभेन्ट्स हुनेछन् ।

ओलम्पिक परेडमा १० हजारभन्दा बढी खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । उद्घाटन सत्रमा सहभागी खेलाडीले सेन नदीमा डुंगामा परेड गर्नेछन् । ओलम्पिकमा सहभागी प्रत्येक देशका लागि एउटा डुंगाको व्यवस्था गरिएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र फ्रान्स सरकारले ओलम्पिकको उद्घाटन समारोहलाई विशेष बनाउने प्रयास गरेको छ । ओलम्पिक खेलकुदको उद्घाटन पहिलो पटक रङ्गशाला बाहिर गर्न लागिएको हो । उद्घाटन समारोह फ्रान्सको प्रख्यात नदी सेन नदीबाट ६ किलो मिटरको दूरीमा पर्छ ।