२५ मंसिर २०८१, मंगलबार | Tue Dec 10 2024


उपसभामुख रानामाथि छानविन गर्न सांसदहरुको माग


923
Shares

काठमाडौं । सांसदहरुले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामाथि छानविन गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसदहरुले उपसभामुख रानामाथि आर्थिक लेनदेन गरेर मानव तस्करीको आरोप लागेको भन्दै छानवीन गर्न माग गरेका हुन् ।

सांसदहरुले उपसभामुखमाथि गम्भीर आरोप लागेपछि प्रतिनिधि सभाको गरिमामाथि नै प्रश्न उठ्ने भन्दै तत्काल छानविन गरी सत्यतथ्य पत्ता लगाउनुपर्ने बताएका छन् ।

बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले उपसभामुखमाथि मानव तस्करीको आरोप लाग्नु लज्जास्पद विषय भएको बताउनुभयो । उहाँले उपसभामुखमाथि प्रश्न उठ्नुले सांसदहरुको शीर निहुरिएको बताउनुभयो । उहाँले छानविन गरी निर्दोष भए दोषबाट मुक्त गराउनुपर्ने र दोषी देखिएमा कानूनी कठघरामा उभ्याउनुपर्ने बताउनुभयो ।

बैठकमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी९एमाले०का सांसद वासुदेव घिमिरेले उपसभामुखको विषय सिंगो संसदसँग जोडिने विषय भएको भन्दै यस प्रकरणमा छानवीन गर्नुपर्ने बताउनुभयो । उहाँले दोषि देखिएमा कानूनी कारबाही गर्नुपर्ने बताउनुभयो ।

नेकपा (एमाले)को सांसद रघुजी पन्तले उपसभामुख रानाको सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी समेत आएको भन्दै यस विषयलाई गम्भीरतापूर्वक लिएर समितिले कदम चाल्नुपर्ने बताउनुभयो । उहाँले कानूनी र राजनीतिक पक्षलाई समेत हेरेर विषय अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले समितिको काममाथि प्रश्न नउठ्ने गरी उपसभामुखमाथिको यस प्रकरणमा समितिले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उपयुक्त आधारसहित मात्रै उपसभामुखमाथि छानवीनको निर्णय गर्नुपर्ने उहाँको भनाई छ ।