काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारले निजी क्षेत्रलाई कुनैपनि दुःख नदिने प्रतिवद्धता जनाउनुभएको छ ।
शुक्रबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको भेटमा उपप्रधान तथा अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।
अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका समस्यालाई प्राथमिकतामा राखेर समाधान गर्ने बताउनुभयो । उहाँले राजनीतिक अस्थिरताको कारण मुलुक र निजी क्षेत्रले समस्या भोग्दै आएको भन्दै स्थायित्व र स्थिर सरकारको सन्देश दिने गरी सरकार बनेकाले सबै समस्याको समाधान पनि यही सरकारले दिने उल्लेख गर्नुभयो । उहाँले राजनीतिक स्थायित्व सुनिश्चित गर्ने र अर्थतन्त्रका समस्यालाई समाधान गर्ने प्रयासका साथ सरकार अगाडि बढेको बताउनुभयो ।
अर्थमन्त्री पौडेलले बजारमा माग, उत्पादन,पुँजीगत खर्च र राजश्व लगायतका सूचकहरु घटेको अवस्था रहेको बताउनुभयो । उहाँले अर्थतन्त्रका सूचकहरु मात्रै नभएर मानिसहरुको मन टुटेको भन्दै आत्मविश्वास बढाउने गरी काम गर्ने बताउनुभयो । उहाँले बैंकमा तरलता हुँदा र ब्याजदर घट्दै जाँदा समेत कर्जा प्रवाह नभएको भन्दै निजी क्षेत्रको आत्मविश्वास जगाउनु सरकारको पहिलो चुनौति रहेको बताउनुभयो ।
अर्थमन्त्री पौडेलले उद्योगीहरु नयाँ क्षेत्रमा लगानी गर्ने भन्दा पनि कसरी व्यवसाय बचाउने भन्ने चिन्तामा रहेकाले कर्जा प्रवाह हुन नसकेको बताउनुभयो । उहाँले निजी क्षेत्र मुलुकको अर्थतन्त्रको बलियो आधार भएकाले निजी क्षेत्रको आत्मविश्वास बढाउन सरकारको ध्यान केन्द्रित रहेको बताउनुभयो ।
अर्थमन्त्री पौडेलले निजी क्षेत्रले सरकारप्रति आशा,भरोसा र विश्वास गरे त्यहाँका समस्या समाधान गर्नको निम्ति प्रभावकारी पहलकदमी लिने बताउनुभयो । उहाँले निजी क्षेत्रले शिथिल र संकुचनमा रहेको अर्थतन्त्रलाई लयमा फर्कनसक्ने विश्वास दिन आग्रह गर्नुभयो । उहाँले सरकार सबैको अभिभावक भएकोले अभिभावकको भुमिका निर्वाह गर्ने बताउनुभयो ।
अर्थमन्त्रीसँगको भेटमा नेपाल चेम्बर अफ कमर्सले कर्जाको पुनर्तालिकीकरण भए धरासायी उद्योग बचाउन माग गरेको छ । चेम्बरका अध्यक्ष आर्थिक गतिविधीमा आएको संकुचनले माग र आपूर्तिबीच असन्तुलन, निजी क्षेत्रको सम्पत्तिमा संकुचन एवं बैंक तथा वित्तीय संस्थामा तरलता भएपनि निजी क्षेत्रमा लगानीप्रति आर्कषण नभएकोप्रति ध्यानाकर्षण गराउनुभयो ।
उहाँले आर्थिक र वित्तीय क्षेत्रको निकासका लागि नीतिगत स्थायित्व र सरकारी संरक्षणको आवश्यकता रहेको बताउनु भयो । उहाँले कालोसूचिमा पर्न लागेका उद्यमी व्यवसायीहरुलाई उद्योग व्यवसायको प्रकृति हेरेर केही समयका लागि कर्जाको पुनःतालिकीकरण गर्नुपर्ने माग राख्नुभयो । कर्जाको पुनःतालिकीकरण गर्न सकिए उद्यमी व्यवसायीहरुमा ठूलो आत्मविश्वास सिर्जना गर्न सकिने र धेरै उद्यमी व्यवसायीलाई धरासायीहुनबाट जोगाउनुपर्ने चेम्बरको माग छ ।
प्रतिक्रिया दिनुहोस्