काठमाडौं । गत असार २८ गते बिहान चितवनको सिमलतालमा दुई वटा बस पहिरोसँगै त्रिशूली नदीमा खसे । बससँगै ६५ जना यात्रु पनि नदीमा बेपत्ता भए । नदीमा खसेका बस र बसमा सवार यात्रुहरुको खोजीका लागि सोही दिनदेखि नै नै तीन वटै सुरक्षा निकाय परिचालन भईरहेका छन् । त्यसमाथि सशस्त्र प्रहरीका गोताखोरहरुको समूह पनि हरेक दिन खटिएका छन् । तर पनि अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।
जब गोताखोरको टोली पानी मुनी हामफालेर डुबेका मानिसहरुको खोजी गर्छन, तब पीडित परिवार लगाएतलाई लाग्दो हो कि डुबेका मानिसको जिउँदै उद्धार गरिन्छ । तर यथार्थ फरक छ । नेपालमा गोताखोरको ब्यबस्थापन गर्ने एक मात्र निकाय हो सशस्त्र प्रहरी बल । यस बलका गोताखोरहरुले बंगलालेशमा तालीम लिने गरेका छन् र त्यो पनि स्थीर पानीमा । तर नेपालमा पानीमा हुने दूर्घटनाहरु अक्सर बग्ने नदीहरु र चट्टाने खोलामा हुने गर्दछ । यस्ता नदीमा डुबुल्की मारी उद्धार गर्नुपर्ने भएकाले अधिकांश उद्धारकार्य प्रभावकारी हुन नसकेको हो ।
त्यसो त धेरै उदाहरणहरु छन् खोलामा डुबेका वा बेपत्ता भएकाहरुको खोजी कार्य गोताखोरहरुले गरेका । तालीमका क्रममा उद्धारका लागि प्रयोग गरिने बिभिन्न प्रविधीयुक्त उपकरणहरुकोे ज्ञान दिने गरिए पनि गोताखोरहरुलाई फिल्डमा पुग्दा उच्च प्रविधियुक्त उपकरणको अभाव रहने गरेको छ । जसका कारण उद्धार र खोजी कार्यमा कठिनाई हुने गरेको छ । त्यतिमात्र होइन गोताखोरहरुको ज्यान समेत जोखिममा पर्ने गरेको छ ।
उपकरण अभावकाबीच सशस्त्र प्रहरीले सातै प्रदेश, काठमाडौंको सिनामंगल र चितवनको कुरिनटारनमा गरी देशका १० ठाउँमा गोताखोरलाई तयारी अवस्थामा राख्ने गरेको छ । आवश्यक पर्दा यि टोलीहरु सधैं तत्पर अवस्थामा रहने गर्दछन् । बंगालादेशमा तालीम लिई दिक्षीत भएका ५६ जनाको गोताखोरको टोली अहिले त्रिशुली नदीमा वेपत्ता यात्रुहरुको खोजीमा खटिएका छन् । तर सरकारले घटना भएको ६ दिनपछी मात्रै नयाँ प्रविधीयुक्त उपकरण सहितका गोताखोर मगाउने तयारीमा जुटेको छ ।
यस्तै गल्ती सरकारले तत्कालिन गृहमन्त्री माधव घिमिरे चढेको जीप त्रिशुली नदीमा खसेर बेपत्ता हँुदा पनि गरेको थियो । त्यसबेला पनि घटना भएको ५ दिनपछी मात्रै बंगलादेशबाट गोताखोरको टोली मगाई खोजी गर्दा घिमिरेको बारेमा कुनै पत्ता लाग्न सकेन । बर्षे भेलको धमिलो पानीका कारण खोजी कार्यमा कठिनाई हुने यथार्थ हो । तर आधुनिक प्रविधीयुक्त उपकरणको प्रयोग तत्काल गर्नेतर्फ सरकारी अधिकारीहरु कहिल्यै पनि गम्भीर नरहेको पनि यथार्थ नै हो । सरकारी तहबाट पूर्व तयारीमा हुने लापबाहीको पीडा भने बारम्बार सर्वसाधारणले भोग्नु परेको छ ।
प्रतिक्रिया दिनुहोस्